नेपाली पारा तेक्वान्दो टोलीले मलेसियाको कुचिङमा आयोजना हुने १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी–फोर) मा प्रतिस्पर्धा गर्ने भएको छ । च्याम्पियनसिपमा पाँचै नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्ने छन् ।>
टोली साउन १३ गते मलेसिया जाने छ । च्याम्पियनसिपमा सहभागी हुने पारा तेक्वान्दो टोलीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघले शनिबार बिदाइ गरेको छ । संघले पाँच खेलाडीसहित सात सदस्यीय टोलीलाई शनिबार बिदाइ गरेको हो ।>
पाँचै खेलाडीले के–४४ विधाअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता र ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् । महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोबद्र्धन, ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन् । चीनको सांघाईमा अध्ययनरत पलेशा त्यहींबाट मलेसिया जाने पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जानकरी दिए ।>
पारा तेक्वान्दोका सफल प्रशिक्षक कविराज नेगी लामाले यो प्रतियोगितामा पनि प्रशिक्षकको भूमिकामा छन् । व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् । प्रशिक्षक लामाले वरीयता सुधार गर्न प्रतियोगिता महत्वपूर्ण भएको बताए । >
नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । हालसम्म नेपालले एक रजत र पाँच कांस्य गरी ६ पदक जितेको प्रशिक्षक लामाले जानकारी दिए । रञ्जना धामीले रजत र कांस्य जितेकी छन् । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य पदक जितेका छन् ।>
टोलीलाई नेपाल च्याम्बर अफ कमर्सअन्तर्गतको शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रुपक राजवंशी र उपाध्यक्ष सुनिता सिंह, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले बिदाइ गरेका थिए । अध्यक्ष राजवंशीले टोलीलाई प्रोत्साहन स्वरुप ५० हजार नगद प्रदान गर्ने घोषणा गरेका थिए । सोही अवसरमा लायन्स क्लब अफ काठमाडौं तेक्वान्दो नेपाल र लायन्स क्लब अफ काठमाडौं मेरिगोल्डले पनि ट्रयाकसुट हस्तान्तरण गरेको थियो । काठमाडौं जिल्ला तेक्वान्दो संघले पनि टोलीलाई टिसर्ट उपलब्ध गराएको थियो ।>
>>>>>