नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले देशमा थप विमानस्थल आवश्यक हो वा होइन भन्नेबारे स्पष्ट हुन जरुरी रहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको थियो ।>
समितिको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक सञ्जाल धेरै ठाउँमा पुगिसकेको र विमानस्थलहरुको सञ्चालन हुन नसकिरहेको बताउनुभएको उल्लेख गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने कञ्चनपुरमा विमानस्थल बनाउने योजनाअनुसार अघि बढ्नुले संशय पैदा भएको बताउनु भयो । अब सरकारले पर्यटनसँग सम्बन्धित पूर्वाधार बनाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले पर्यटन नीति जारी भएको छ । एभिएशन सेफ्टी, एयरपोर्टको सेवा र रेगुलेट अथोरेटीको कुरामा नेपालमा विश्वसनियताको कमी र कालोसूचिबाट हटाउने भन्नेतिर ध्यान गएको छ ।>>
पर्यटन नेपालको मुहार फेर्ने ठाउँ हो । पर्यटनसँग सम्बन्धित पूर्वाधार बन्नुपर्छ । प्रधानमन्त्रीज्युले पहिला सडक सञ्जाल थिएन, अहिले सडक गइरहेको भएर सडक भएपछि ति एयरपोर्टहरु चल्न सक्दैनन् भन्नुभएको छ । तर पर्यटन मन्त्रालयले एयरपोर्ट थप्न खोजिरहेको छ । माननीयज्युहरुले पनि निर्वाचन लक्षित एयरपोर्ट बनाउन माग गरिरहनुभएको छ । माननीय गृहमन्त्रीज्युले कञ्चनपुरका लागि एयरपोर्ट माग गरिरहेको समाचारहरु आएको छ ।’ सांसद बजगाईंले निर्वाचन लक्षित गरेर गृहमन्त्री रमेश लेखकके कञ्चनपुरमा विमानस्थल माग गरिरहनुभएको भन्दै यसबारे स्पष्ट पार्न आग्रह गर्नुभयो ।>>
>>