>
नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले पटक–पटक अवसर पाएका नेताहरू नै पार्टीमा असन्तुष्टि फैलाउँदै विभाजनसम्म लैजाने प्रवृत्ति मौलाएकोमा चिन्ता व्यक्त गरेका छन्।>
दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित स्वर्गीय नेता पशुपति चौलागाईंको चौथो स्मृति सभामा बोल्दै ज्ञवालीले पार्टीमा लामो समयदेखि निःस्वार्थ रुपमा लागेका कार्यकर्ताले अवसर नपाउँदा पनि समर्पित भएर काम गरिरहे पनि बारम्बार अवसर पाएका नेताहरू असन्तुष्ट भई पार्टीलाई क्षति पुर्याउने गतिविधिमा लाग्ने गरेको बताए।>
>
“एकचोटि अवसर पायो, फेरि पाएन भने असहयोगी बन्छ, तेस्रोचोटी नपाउँदा विभाजनमा जान्छ,” उनले भने, “प्रधानमन्त्री, मन्त्री, सांसदजस्ता उच्च पदमा पुगेका व्यक्तिहरू नै अहिले विभाजनको अगुवाइ गरिरहेका छन्, यो चिन्ताजनक कुरा हो।”>
ज्ञवालीले स्वर्गीय चौलागाईंको निष्ठा, इमानदारिता र त्यागबाट आजको राजनीति शिक्षित हुनुपर्ने बताए। “हामीले उहाँको सम्झनाबाट निष्ठाको राजनीति कसरी गर्ने भन्ने पाठ सिक्नुपर्छ,” उनले भने।>
कार्यक्रममा उनले जनताको जीवनसँग जोडिएको र परिणाममुखी राजनीति गर्नुपर्ने आवश्यकता पनि औंल्याए। “राजनीति अब केवल नारामा सीमित हुनुहुँदैन, जनताको जीवनस्तर सुधारमा केन्द्रित हुनुपर्छ,” उनले स्पष्ट पारे।>
सो अवसरमा नेता चौलागाईंको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिनुका साथै २०८२ सालको भित्तेपात्रो विमोचन गरिएको थियो। कार्यक्रममा एमाले नेताहरू आनन्द पोखरेल, पार्वत गुरुङ, सरस्वती बस्नेत, शान्ति पाख्रिन, श्यामकुमार बस्नेत, बालकृष्ण शिवाकोटी, नरबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।>
नेता चौलागाईंको निधन चार वर्षअघि कोभिड–१९ को संक्रमणका कारण ६१ वर्षको उमेरमा भएको थियो। उनी विद्यालय जीवनदेखि नै वाम आन्दोलनमा सक्रिय रहेर पार्टीप्रति निष्ठावान नेताका रूपमा परिचित थिए।>>>