कमिसनको कालोधन्दाः निलम्बितकै खातामा करोडौँ निकासा

Jasus Khabar 3925+ समाचार ( )
७ श्रावण २०८२

मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय बाराले  सञ्चालन गरेको जनताको आवास निर्माणको लागि प्राप्त  करोडौँ बजेट रकमलाई गैर कानुनी रूपले निकासा गरेको पाइएको छ। प्रदेश सरकारबाट प्राप्त गरिब, अल्पसङ्ख्यक , विपन्न,आसाहाय लगायतको लागि आएको आवास निर्माणको रकमलाई गैर कानुनी रूपले  निलम्बित पूर्वाधार विकास कार्यालय बाराका तत्कालीन  निमित्त प्रमुख राजेन्द्र साह र आवास निर्माण उपभोक्ता समितिको अध्यक्षको सन्युक्त खातामा करोडौँ रकमलाई पूर्वाधार विकास कार्यालय  बाराले निकासा गरेको भेटिएको छ।      

गत आर्थिक वर्षमा जिल्लाका  जनता आवास, निधि आवास र मदन आवास अन्तर्गत दुई सय ५० भन्दा बढी आवासको निर्माण कार्य गरिएको पूर्वाधार विकास कार्यालय बाराले जनाएको छ। ती आवासको लागि प्राप्त लगभग १४ करोड बजेट रकम निलम्बित निमित्त कार्यालय प्रमुख साह र विभिन्न उपभोक्ता समितिका अध्यक्षहरूको नामबाट राष्ट्रिय वाणिज्य बैङ्कका विभिन्न  शाखामा खोलिएको १४ वटा खाताहरूमा १४ करोडौँ  जति निकासा गरिएको छ।          २०८१ साल चैत्र २४ गतेको मितिमा खाता सिफारिस देखाएर २०८२ असार २२ गते गंजभवानीपुर, वीरगन्ज र निजगढमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कका शाखाहरूमा १४ वटा खाता खोलिएका थिए।                                           वाणिज्य बैङ्कको वीरगन्ज शाखामा रहेको  श्री दुर्गा माई मदन आवास समितिको खातामा  ८० लाख ,विपन्न आवास समिति खातामा ७६ लाख ,  बाबा मदन निर्माण  समितिको खातामा ८० लाख ६४ हजार,कृष्ण मदन समितिको खातामा – १ करोड ८० हजार,   श्री मदन आवास समितिको खातामा एक करोड चार लाख, मदन आवास निर्माण समितिको खातामा ४८ लाख,    निजगढ शाखामा रहेको जय मा  मदन आवास समिति खातामा १ करोड ४९ लाख रहेको छ।  

त्यसैगरी सघुवाघट्ट मदन आवास समितिको खातामा  एक करोड ५३ लाख त्यस्तै गन्जभवानीपुरको वाणिज्य बैङ्कको शाखामा  मदन आवास निर्माण सनिती ८४ लाख, तेलकुवा मदन आवास निर्माण समिति  खातामा ८८ लाख ७० हजार, मदन आवास निर्माण समितिको खातामा एक करोड ४५ लाख, श्री महेन्द्र नारायण निधि आवास ईटहरको खातामा दुई करोड ५५ लाख , जय श्रीराम मदन आवास निर्माण समिति दुई करोड ४९ लाख ९५ हजार,   महादेव मदन आवास समितिको खातामा शून्य रहेको छ।    

जनता आवास, निधि आवास र मदन आवास निर्माणको लागि प्राप्त लगभग १४ करोड बजेट रकम निलम्बित निमित्त कार्यालय प्रमुख राजेन्द्र साह र समितिका अध्यक्षहरूको  सन्युक्त नामको खातामा निकासा गरिएको थाहा पाएर त्यस रकमलाई दुरुपयोग हुन बाट बचाउन ती सबै खाताहरू रोक्का गर्न लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए।  

आवास निर्माणको बजेट रकमको निकासा गरिएको बारे छानबिन सुरु गर्न अख्तियारलाई पत्राचार गरिएको उनले बताए। खाता रोक्का गरिए पछि त्यसबाट रकम नझिकिएको पूर्वाधार विकास कार्यालय बाराका प्रमुख रिम्पू यादवले दाबी गरेकी छिन। आवास निर्माणको लागि प्राप्त बजेटलाई भुक्तानी गर्ने पहिला देखिनै  खोलिएको खातामा त्यो रकम निकासा हुन पुगेको उनले बताइन।                                                                उनले यसो भनेपनि आवास निर्माणको रकमबाट आफू खुसी कमिसन असुल्नको लागि पूर्वाधार विकास कार्यालय बाराका प्रमुख रिम्पू यादव र लेखापाल मुकेश प्रजापतिले ती खाताहरूमा रकम निकास गरेको आरोप छ।साह लगायत अन्यलाई वीरगन्जको नारायणी अस्पतालको भवन ठेक्का प्रक्रियाको विषयमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख २१ गते विशेष अदालतमा मुद्दा दर्ता दर्ता गरे  पछि उनी निलम्बनमा परेका थिए।          

निलम्बित निमित्त प्रमुख साहले आफू कार्यालय प्रमुख भएको बेलामा खोलिएको खातामा आवास निर्माणको बजेट रकम पठाएको कार्यमा  आफ्नो कुनै संलग्नता  नरहेको बताएका छन्। खातामा पठाइएको पुरै रकमहरू सुरक्षित रहेको साहले बताए। आफूलाई फसाउन र बदनाम गराउनको लागि अनावश्यक प्रचारबाजी गरिएको साहले बताए।

प्रतिक्रिया