करेन्ट लागेर भारतमा ६८ भैंसी मरे, गाउँभरी शोकको लहर

Jasus Khabar 3925+ समाचार ( )
७ जेठ २०८२

भारत, राजस्थानको बाराँमा गत शुक्रबार विद्युत् प्रवाह (करेन्ट) लागेर ६८ भैंसी मरेका छन्। सो घटनाले गाउँभरी शोकको लहर छाएको छ। गाउँको गणेश जीको तलाउमा नुहाउने क्रममा करेन्ट लागेर ६८ भन्दा बढी भैंसीको मृत्यु भएको हो। 

यो घटनाले ४० परिवारको जीविकोपार्जनको मुख्य आधार गुमेको छ। मृत्यु हुने भैंसीहरूमध्ये अधिकांश गर्भवती थिए, जसले पशुपालकहरूको पीडालाई झन् गहिरो बनाएको छ।

स्थानीय पशुपालक सुबोध मीणाले आँसु झार्दै भने, ‘भैंसीहरू हाम्रा लागि केवल जनावर थिएनन्, ती हाम्रो परिवारको हिस्सा थिए। तिनीहरूको मृत्युले हाम्रो जीवनको आधार नै खोसिएको छ।’ 

शुक्रबार बिहान तलाउमा भैंसीहरू नुहाउँदै थिए, तर अचानक एक–एक गर्दै भैंसीहरू ढल्न थाले। केही मिनेटमै ६८ भन्दा बढी भैंसीको मृत्यु भयो। पछि थाहा भयो कि तलाउमा विद्युत् प्रवाह भएको थियो।

नाहरगढ थानाका प्रहरी अधिकारी धर्मपाल यादवका अनुसार भैंसीहरू तलाउमा नुहाउन गएका थिए। तर मृत्युको सही कारण पत्ता लगाउन पोस्टमार्टम आवश्यक छ। प्रारम्भिक अनुसन्धानले विद्युत् प्रवाहलाई नै मुख्य कारण मानेको छ। 

गाउँलेहरूले तलाउको पानी दूषित भएको वा कुनै अन्य कारणले पनि मृत्यु भएको हुन सक्ने आशंका गरेका छन्। केही भैंसीको मुखबाट झाग निस्किएको देखिएको उनीहरूले जानकारी दिएका छन्। 

गाउँलेहरूले यो घटनाले करिब ७० लाख भारतीय रुपैयाँको आर्थिक नोक्सानी भएको अनुमान गरेका छन्। पशुपालकहरूले प्रशासनसँग मुआब्जाको माग गरेका छन्। तर गाउँलेहरू पोस्टमार्टमका लागि तयार नभएको प्रहरीले जनाएको छ। सहमति भएपछि मात्र मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढ्ने छ। 

एक पशुपालकले भने, ‘भैंसीहरू हाम्रा सन्तानजस्तै थिए। तिनीहरू गर्भवती थिए, हामीले धेरै आशा राखेका थियौं। तर अब हामीसँग केही बाँकी छैन।’ प्रशासनले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार