अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी

Jasus Khabar 3925+ समाचार ( )
२३ जेठ २०८२

स्वास्थ्य मन्त्रालयले स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।  

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरूलाई साउनबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका हुन् । 

निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ । मापदण्डसमेत अभाव देखिएकाले ५, १० र १५ शय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरू सञ्चालनमा मन्त्री पौडेलले सक्रियता देखाएका थिए । हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड-२०८२ निर्माण गरिसकेको छ ।

अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधि तथा रिएजेन्टसलगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन गर्न मन्त्रालयले कार्ययोजनाको तयारी अघि बढाएको छ । यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।

कार्यदलले संघ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रस्टता ल्याउन सघाउनेछ । मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरू सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार