धरानमा लागू औषधसहित तीन जना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
२० वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका- १५ स्थित शितल मार्गमा लागू औषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।


शुक्रबार राति साढे ११ बजे प्राप्त गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले विरश थापाको घरमा डेरा गरी बस्ने तीन जनाको कोठामा खानतलासी गर्दा ठूलो मात्रामा लागू औषध फेला पारेको हो।


प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भोजपुर घर भई धरान बस्दै आएका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अंगत श्रेष्ठ र ३१ वर्षीय सागर राई रहेका छन्।


उनीहरूको कोठाबाट प्रहरीले विभिन्न प्रकारका लागू औषधहरू बरामद गरेको छ। बरामद लागू औषधहरूमा ट्रामाडोल ४ हजार ९ सय ३५ क्याप्सुल, कोलिवान ५ हजार ६० चक्की, स्पास्पेन ९४ चक्की, डिकोलिक २० चक्की, नाइट्राजेपाम १९० चक्की, एरोमिनिक १६ चक्की गरी जम्मा १० हजार ३ सय १५ वटा ट्याबलेट र १.७६० ग्राम ब्राउन सुगर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले लागू औषध कारोबारविरुद्ध निगरानी र कडा निगरानी अभियानलाई अझ सशक्त बनाइएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार