काठमाडौं : नेकपा एमालेले आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षगाँठ मनाउने भएको छ। एमालेका महासचिव शंकर पोखरेलले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिए।>
कार्यक्रमलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले १ बजे सम्बोधन गर्नेछन्।>
कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने उनले बताए। उनले भने, ‘सचिवालय बैठकमा भएको निर्णयअनुरुप नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुहुने लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) लाई सम्मान गरिन्छ।’ >
आजको कार्यक्रममा पार्टी केन्द्रबाट प्रकाशित ‘शेल्टर’ नामको पुस्तक विमोचन गरिने छ। पुस्तकमा तत्कालीन नेकपा (माले) र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको छ। >
एमालेले वैशाख ११ गते ‘युथ सेलिब्रेशन’ भव्य रूपमा मनाउने निर्णय गरेको छ। एमालेको निर्णयमा भनिएको छ, ‘राज्यशक्तिको स्रोत जनता हो, राजकीय सत्ता जनतामा रहेको उद्घोष गरिएको दिन अर्थात् लोकतान्त्रिक गणतन्त्रको विजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रूपमा वैशाख ११ गते ‘युथ सेलिब्रेशन’ व्यापक युवाहरूको उपस्थितिमा भव्य रूपमा मनाउने निर्णय गरेको छ।’>>