मधेसमा पानी नभए घर छोड्दासमेत सरकार जिम्मेवार भएनः सांसद

Jasus Khabar 3925+ समाचार ( )
७ श्रावण २०८२

 राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंशाकारले मधेसमा खानेपानीको अभावका कारण स्थानीय बासिन्दा घर छोड्न बाध्य हुँदा पनि सरकार गैरजिम्मेवार भएको बताएकी छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद कंशाकारले पानीको हाहाकार भएको बारा, पर्सा र महोत्तरी जानुपर्ने मन्त्रीहरु विदेश भ्रमणमा व्यस्त रहेको भन्दै आपत्ति जनाएकी हुन् ।

भिजिट भिसामार्फत भइरहेको संगठित मानव तस्करीविरुद्ध आफूहरु ४८ दिनदेखि आवाज उठाइरहेको भएपनि सरकारले नजरअन्दाज गरेको उनको भनाइ छ । भिजिट भिसा दुरुपयोगको अनुसन्धानका लागि संसदीय छानविन विशेष समिति वा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने उनको माग छ ।

उनले भनिन्, ‘मधेशमा पिउने पानीका लागि मानिसहरु घर छोड्न बाध्य छन् । तर मन्त्रीहरु विदेश भ्रमणमै मस्त छन् । बारा, पर्सा, महोत्तरी पुग्नुपर्ने अर्जेन्सी सरकालाई छैन । संसदमा हामी ४८ दिनदेखि उभिएका छौं । भिजिट भिसाको नाममा हुने संगठित तस्करीबारे सरकारलाई खबरदारी गरिरहेका छौं । तस्करको सेटिङ नभत्किएको आजकै राष्ट्रिय दैनिकहरुमा छापिएको छ । भ्रष्ट र तस्करहरु सरकारसँग डराएका छैनन् ।’

उनले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानविन गर्न संसदीय समिति नबनेसम्म आन्दोलन जारी रहने बताइन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार