इजरायल र इरानबिचको युद्धमा अमेरिका पनि मिसिएपछि मध्यपूर्वमा शान्त मानिएका मुलुकहरु समेत यसको चपेटामा पर्न थालेका छन्। तुलनात्मक रूपमा विकशीत र सुरक्षित मानिएका दुबई, कतार लगायतका देशसमेत यो तनावको भूमरीमा पर्न थालेका हुन्।>
पछिल्लो समय चालिएका अभूतपूर्व कदमहरूले मध्यपूर्वको एउटा त्यस्तो भूभागप्रति बढ्दो चिन्तालाई उजागर गर्छन्, जुन सामान्यतया सुरक्षित र क्षेत्रीय अस्थिरताबाट निकै पर मानिन्दै आएको छ।>
इजरायल र इरानबीचको द्वन्द्व दोस्रो सातामा प्रवेश गरिरहँदा र अमेरिकाले इरानी आणविक साइटहरूमा आक्रमणमा सहभागी भएसँगै अमेरिकी र युरोपेली एयरलाइन्सहरूले अरब खाडीका गन्तव्यहरूमा उडान रोक्न थालेका छन्।>
अमेरिकन एयरलाइन्स ग्रुपले कतारको राजधानी दोहामा हुने दैनिक उडानहरू स्थगित गरेको छ। त्यस्तै फाइनर ओयजले पनि दोहातर्फका उडान रोकेको छ। त्यस्तै युनाइटेड एयरलाइन्स होल्डिङले भने सैन्य गतिविधि र क्षेत्रको बढ्दो तनावका कारण दुबईतर्फको सेवा रोकिएको जानकारी दिएको छ।>
एयर-फ्रान्सले यस हप्ता दुबईका केही उडानहरू रद्द गरिएको जनाएको छ, भने बृटेन एयरवेजले सञ्चालनका सीमाहरू र हवाई क्षेत्र प्रतिबन्धका कारण बहराइनतर्फका उडानहरू महिनाको अन्त्यसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ। त्यस्तै, एयर क्यानडाले पनि दुबईतर्फका उडानहरू स्थगित गरेको जानकारी आफ्नै वेबसाइटमार्फत दिएको छ।>
एयरलाइन्सहरूले उडान रद्द गर्ने निर्णय गरेका घटना हालसम्मको २० महिनाको मध्यपूर्वको बढ्दो तनावका क्रममा पहिलोपटक क्षेत्रका सबैभन्दा व्यस्त केन्द्रहरू प्रभावित भएको हो। अघिल्ला स्थगनहरू इजरायल वरपरका देशहरू र इरानी मिसाइलहरू जाने आकाशसम्म सीमित थिए।>
तर पछिल्ला दिनमा भएका अभूतपूर्व कदमहरूले मध्यपूर्वको सामान्यतया सुरक्षित र क्षेत्रीय अस्थिरताबाट टाढा मानिएका क्षेत्रहरु समेत यो युद्धको चपेटमा पर्न थालेका छन्। तेहरानले यदि वाशिङ्टनको युद्ध संलग्नताको विरुद्धमा अरब खाडीमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेमा स्थिति थप भयावह हुनेछ।>
साथै युएई र ओमानसँग सिमाना जोडिएको अत्यन्तै महत्त्वपूर्ण तेल व्यापार मार्ग स्ट्रेट अफ होर्मुज बन्द गराउने संसद्बाट निर्णयनै गराइसकेको इरानका आगामि कदम यस क्षेत्रका लागि झनै खतरनाक र घातक हुने छन्।>
मुख्य रुपमा दुबई जहाँ एमिरेट्स एयरलाइन्सको मुख्यालय छ त्यस्तै दोहा जहाँ विश्वव्यापि एयरलाइन्स कम्पनी कतार एयरवेजको आधार इलाका रहेको छ। यी दुई शहरहरू मध्यपूर्वका सबैभन्दा महत्त्वपूर्ण क्षेत्रीय तथा विशेष गरी लामो दूरीका हवाइ यात्राका केन्द्रहरू हुन्। अमेरिका, युरोप र एशियाबीचको आवागमनका लागि यी शहरहरूले विश्वव्यापि गेटवेको भूमिका खेलेका छन्।>
अमेरिकी एयरलाइन्सले आफ्नो निर्णय त्यसपछि लिएको हो, जब कतारस्थित अमेरिकी दूतावासले त्यहाँ रहेका अमेरिकी नागरिकहरू र आफ्ना कर्मचारीहरूलाई ‘अझ बढी सतर्क रहन’ सल्लाह दियो।>
अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित सल्लाहमा उनीहरूलाई वरपरको अवस्थाबारे सचेत रहन, प्रदर्शन वा भीडभाड भएको स्थान टाढा रहन, अमेरिकासँग खुल्ला रूपमा सम्बन्धित स्थानहरूमा विशेष सावधानी अपनाउन र ‘लो प्रोफाइलमा रहन’ भनिएको छ।>
अमेरिकी एयरलाइन्सले फिलाडेल्फियाबाट दोहातर्फ चल्ने आफ्नो दैनिक उडान २२ जुनसम्म स्थगित गरिएको जनाएको छ। दोहाबाट फिलाडेल्फियातर्फ अन्तिम उडान बिहीबार बिहानै प्रस्थान गरेको थियो। एयरलाइन्सले सुरक्षालाई सबैभन्दा प्राथमिकतामा राख्ने भन्दै परिस्थितिको निगरानी गरिरहेको भन्दै अवस्था अनुसार निर्णय लिने बताएको छ।>
युनाइटेड एयरलाइन्सले आफ्नो न्यू जर्सीस्थित न्युवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थल र दुबईबीच चल्ने दैनिक उडानहरू रोकिएको जनाएको र सेवा ‘सुरक्षित हुने वित्तिकै’ पुनःसुरु गरिने बताएको छ।>
कतारस्थित अल उदीद एयर बेस मा पहुँच पनि केही समयका लागि सीमित गरिएको थियो। यो आधार क्षेत्रमा थुप्रै देशका सेनाहरू परिचालित छन्। काउन्सिल फर्जीन रिलेसनका अनुसार मध्यपूर्वभर १९ वटा स्थानमा फैलिएको अवस्थामा ४५ हजारभन्दा बढी अमेरिकी सैनिक रहेका छन्।>
कतारमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा छ भने बहराइनमा अमेरिकी नौसेनाको पाँचौं फ्लीटको मुख्यालय रहेको छ।>>