अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा गिरावट

Jasus Khabar 3925+ समाचार ( )
१३ आषाढ २०८२

अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो ३ महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकारी तथ्यांकले देखाएको छ । अमेरिकी वाणिज्य विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार, पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक दरमा ०.५ प्रतिशतले घटेको हो ।

यसअघि ०.२ प्रतिशतको गिरावट हुने अनुमान गरिए पनि हालको तथ्यांकले त्यसलाई परिमार्जन गर्दै संकुचन अझ गहिरो भएको देखाएको छ । गत वर्षको अन्तिम त्रैमासमा अमेरिकी अर्थतन्त्र २.४ प्रतिशतले वृद्धि भएको थियो । जीडीपी घट्नुमा उपभोग खर्च र निर्यात अपेक्षाभन्दा कमजोर हुनु मुख्य कारण मानिएको छ ।

साथै, राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कार्यभार सम्हालेपछि लगाइएका व्यापक भन्सार शुल्कका कारण आयातमा तीव्र वृद्धि भएको छ । व्यापारिक साझेदारहरूबाट आयातमा लाग्ने नयाँ कर लागू हुनुअघि व्यापारीहरूले ठूलो मात्रामा सामग्री आयात गरी भण्डारण गरेकाले यो असर देखिएको हो ।

जीडीपीको गणनामा आयात नकारात्मक रूपमा गनिन्छ, जसका कारण सरकारी खर्चमा गिरावट र उपभोगमा कमजोरीसँगै समग्र अर्थतन्त्रमा घटबढ देखिएको हो । वाणिज्य विभागका अनुसार, हालको परिमार्जित अनुमानले उपभोग खर्च र निर्यातमा गिरावट देखाएको छ, यद्यपि आयातको गिरावटले केही हदसम्म त्यसको असरलाई न्यून तुल्याएको छ ।

हाल अमेरिकी प्रशासनले अधिकांश व्यापारिक साझेदारहरूबाट आउने सामानमा १० प्रतिशत भन्सार कर घोषणा गरिसकेको छ, जुन अझै कार्यान्वयनको चरणमा पुगेको छैन । तर, जुलाईमा सो निर्णय कार्यान्वयन हुने सम्भावना भएकाले बजारमा अनिश्चितता बढेको छ । राष्ट्रपति ट्रम्पले स्टिल, एल्युमिनियम र सवारीसाधन आयातमा समेत उच्च कर लगाएका छन् । यस्ता कदमहरूले बजारमा अस्थिरता ल्याउनुका साथै आपूर्ति प्रणालीमा बाधा र उपभोक्ताहरूको मनोबलमा गिरावट ल्याएको अर्थविद्हरूको भनाइ छ ।

प्रतिक्रिया