पछिल्लो समयमा मधेश प्रदेशभित्र खाद्य तथा अन्य बालीले ओगट्ने क्षेत्रफल घट्न पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मधेश प्रदेशमा खाद्य तथा अन्य बालीले ओगटेको भू–भाग ४.५० प्रतिशतले घट्न पुगेको देखिएको हो ।>
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको अर्ध वार्षिक आर्थिक गतिविधि प्रतिवेदन २०२१-८२ (मधेश प्रदेश)अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म मधेश प्रदेशमा खाद्य तथा अन्य बाली लगाएको क्षेत्रफल आठ लाख ८८ हजार हेक्टर रहेको छ ।>
प्रतिवेदनअनुसार २०८१ साउनदेखि पुससम्मको अवधिमा कोदोले ओगटेको क्षेत्रफल ७.५२ प्रतिशत, जौले ओगटेको क्षेत्रफल ७८.४० प्रतिशत, उखुले ओगटेको क्षेत्रफल १२.२७ प्रतिशत र आलुले ओगटेको क्षेत्रफल २.०३ प्रतिशतले वृद्धि भएको छ । >
तर, धान बालीले ओगटेको क्षेत्रफल २.३७ प्रतिशतले कमी भई ३ लाख ७४ हजार १ सय १७ हेक्टर, गहुँले ओगटेको क्षेत्रफल २.८८ प्रतिशतले कमी भई १ लाख ९१ हजार १ सय १३ हेक्टर र मकैबालीले ओगटेको क्षेत्रफलमा २.८५ प्रतिशतले कमी भई ५२ हजार ७ सय २५ हेक्टरमा सीमित भएको छ ।>
तर, समीक्षा अवधिमा समीक्षा अवधिमा तरकारी तथा बागवानीले ढाकेको भू–क्षेत्रमा ८.८८ प्रतिशतले वृद्धि भई ६७ हजार १ सय ५६ हेक्टर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा तरकारी तथा बागवानीले ढाकेको भू–क्षेत्रमा १०.३२ प्रतिशतले वृद्धि भई ६१ हजार ६ सय ८० हेक्टरमा खेती भएको थियो । >
तरकारी तथा बागवानीले ढाकेको भू–क्षेत्रफल महोत्तरी जिल्लामा सबैभन्दा बढी १५ हजार २ सय ५० हेक्टर अर्थात् मधेश प्रदेशको २२.७१ प्रतिशत र रौतहट जिल्लामा सबैभन्दा कम २ सय हेक्टर अर्थात् मधेश प्रदेशको ०.३० प्रतिशत रहेको छ ।>
समीक्षा अवधिमा फलफूल तथा मसला बालीले ढाकेको भू–क्षेत्रफलमा ९.३३ प्रतिशतले वृद्धि भई ५६ हजार २ सय ७५ हेक्टर पुगेको छ भने प्रदेशको समग्र कृषि बालीहरू (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) को कुल उत्पादनमा १.१७ प्रतिशतले वृद्धि भई ४७ लाख ५५ हजार ९ सय २२ मे.टन उत्पादन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बालीको कुल उत्पादनमा ५.०१ प्रतिशतले कमी आएको थियो ।>
त्यस्तै, समीक्षा अवधिमा समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा सबैभन्दा बढी बारा जिल्लाको हिस्सा १७.०१ प्रतिशत र सबैभन्दा कम रौतहट जिल्लाको हिस्सा ८.२८ प्रतिशत रहेको छ । तरकारी तथा बागवानीतर्फ सबैभन्दा बढी हिस्सा महोत्तरी जिल्लाको २१.३४ प्रतिशत र सबैभन्दा कम हिस्सा सिरहा जिल्लाको ६.५१ प्रतिशत रहेको छ । >
फलफूल तथा मसालातर्फ सबैभन्दा बढी सप्तरी जिल्लाको हिस्सा ६१.३५ प्रतिशत रहेको छ । समग्रमा, यस प्रदेशमा धान उत्पादन १०.७० प्रतिशत, मकै उत्पादन ३४.८५ प्रतिशत र गहुँ उत्पादन २.२८ प्रतिशतले वृद्धि भएको छ भने उखु उत्पादन १६.८२ प्रतिशत, आलु उत्पादन ७.३० प्रतिशत, सुर्ति उत्पादन १२.५६ प्रतिशत र दलहन उत्पादन ४१.३९ प्रतिशतले कमी आएको छ ।>
दूध र मासुजन्य उत्पादनमा वृद्धि>
समीक्षा अवधिमा मधेश प्रदेशमा दूध र मासुजन्य उत्पादनमा भने वृद्धि भएको देखिएको छ । सो अवधिमा मधेश प्रदेशमा दूधको उत्पादन ५.२७ प्रतिशतले वृद्धि भई ३ लाख ९२ हजार ७ सय ३४ लिटर, मासुको उत्पादन १.७१ प्रतिशतले वृद्धि भई ८९ हजार २ सय १८ मे.टन र छालाको उत्पादनमा ०.४८ प्रतिशतले वृद्धि भई ९५ लाख २४ हजार वर्ग मिटर, अण्डाको उत्पादन २.२० प्रतिशतले वृद्धि भई ५ करोड ३७ लाख ८० हजार र ऊन उत्पादनमा ०.९५ प्रतिशतले वृद्धि भई २ हजार ८ सय १७ के.जी. उत्पादन भएको छ । >
गत वर्षको अर्ध–वार्षिक अवधिमा दूधको उत्पादन १०.१३ प्रतिशतले, मासुको उत्पादन ५.४८ प्रतिशतले बढेको थियो भने अण्डाको उत्पादनमा १६.६५ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा कुल दूध उत्पादनमध्ये पर्सा जिल्लाको हिस्सा सबैभन्दा बढी ३१.२६ प्रतिशत रहेको छ भने धनुषा जिल्लाको हिस्सा सबैभन्दा कम ५.२३ प्रतिशत रहेको छ ।>
२.४१ प्रतिशतले सिँचाइको क्षेत्रफल वृद्धि>
समीक्षा अवधिमा मधेश प्रदेशको कुल सिञ्चित क्षेत्रफल २.४१ प्रतिशतले वृद्धि भई ३ लाख ३३ हजार ५ सय ५१ हेक्टर पुगेको छ । कुल सिञ्चित क्षेत्रफलमध्ये कुलोद्वारा सिञ्चित क्षेत्रफल ४.३१ प्रतिशतले वृद्धि भई १ लाख १३ हजार ६ सय ८३ हेक्टर, नहरद्वारा सिञ्चित क्षेत्रफल १.९३ प्रतिशतले वृद्धि भई १ लाख ६६ हजार ७ सय ३६ हेक्टर र बोरिङद्वारा सिञ्चित क्षेत्रफल ४५ हजार ७ सय हेक्टर पुगेको छ । >
गत वर्षको सोही अवधिमा समग्र सिञ्चित क्षेत्रफल १.१९ प्रतिशतले वृद्धि भएको थियो । सो अवधिमा नहरद्वारा सिञ्चित क्षेत्रफल २.४४ प्रतिशतले वृद्धि भएको थियो ।>
मधेशमा ६४ अर्ब बढी कृषि कर्जा प्रवाह>
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा प्रवाहित कृषि कर्जा गत वर्ष सोही अवधिको भन्दा १०.३५ प्रतिशतले वृद्धि भई ६४ अर्ब ६२ रुपैयाँ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ५८ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । >
यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १३.२३ प्रतिशत रहेको छ । मधेश प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सर्लाही जिल्लामा प्रवाह भएको कर्जाको हिस्सा सबैभन्दा बढी अर्थात १६ प्रतिशत र सप्तरी जिल्लामा प्रवाह भएको कर्जाको हिस्सा सबैभन्दा कम अर्थात ८ प्रतिशत रहेको छ ।>
साथै, सो प्रदेशमा समीक्षा अवधिसम्म सहुलियतपूर्ण कर्जा १० अर्ब ६४ करोड पुगेको छ । प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी १ अर्ब ८० करोड रुपैयाँ अर्थात् १७ प्रतिशत धनुषा जिल्लामा र सबैभन्दा कम ५८ करोड रुपैयाँ अर्थात् ५ प्रतिशत सप्तरी जिल्लामा रहेको छ ।>