व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी

Jasus Khabar 3925+ समाचार ( )
२८ जेठ २०८२

 षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् ।

षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको छ । नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ ।

चिराइतो तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ, अन्यबालीको तुलनमा जडीबुटी चिराइतोखेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेको देखिन्छ । अहिले हामीले यो क्षेत्रलाई चिराइलो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ’, उनले भने ।

तीनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम एक लाख ५० हजारदेखि १२ लाखसम्म आम्दानी लिने गरेको स्थानीय किसान फुर्लाक्पा शेर्पाले जानकारी दिए । आफूले अहिले २५ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको उनले बताए । चिराइतो बिक्रीबाट औसतमा वार्षिक चारदेखि सात लाख रुपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । गत वर्ष चिराइतो विक्रीबाट सात लाख आम्दानी गरेको उनले बताए ।

प्रतिक्रिया