इजरायलसँगको १२ दिने युद्धको क्रममा इरानका राष्ट्रपति मसूद पेजेश्कियान घाइते भएको खुलेको छ । इरानी रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)सँग सम्बन्धित इरानी समाचार एजेन्सी फार्सले आइतबार यो जानकारी दिएको हो ।>
जुन १६ मा इरानको राजधानी तेहरानमा भएको इजरायली आक्रमणमा राष्ट्रपति पेजेश्कियान सामान्य घाइते भएका थिए । राष्ट्रपति पेजेश्कियान तेहरानमा वरिष्ठ इरानी अधिकारीहरूसँग भेटिरहेको बेला आक्रमण भएको थियो । आक्रमणमा बैठकमा सहभागी धेरै सहभागीहरू घाइते भएका थिए ।>
फार्स समाचार एजेन्सीका अनुसार आक्रमणमा पेजेश्कियानको खुट्टामा चोट लागेको थियो । युद्ध सुरु भएको चार दिन पछि जुन १६ मा तेहरानको पश्चिमी भागको एक भवनमा बैठक आयोजना गरिएको थियो । भवनको भुईं तल्लामा आयोजित बैठकमा इरानका राष्ट्रपति, संसदका सभामुख र न्यायपालिका प्रमुखको उपस्थिति थियो ।>
इजरायलले जुन १२ मा इरानमाथि आक्रमण गर्यो । १२ दिनको युद्धमा इजरायलले इस्लामिक रिभोलुसनरी गार्डका शीर्ष नेतृत्व, वरिष्ठ कमाण्डर र आणविक वैज्ञानिकहरूलाई मारेको थियो । जुन १३ मा इरानमाथिको आफ्नो आक्रमणमा इजरायलले आईआरजीसी कमाण्डर मेजर जनरल हुसेन सलामी र इरानी सशस्त्र बलका प्रमुख मेजर जनरल मोहम्मद बघेरीलाई मारेको थियो ।>
इजरायल प्रतिरक्षा फौज (आईडीएफ)ले आईआरजीसी वायुसेना कमाण्डर अमिर अली हाजिजादेह र अन्य वरिष्ठ इरानी वायुसेना अधिकारीहरूको हत्याको पनि पुष्टि गरेको छ ।>>