भोक्राहा नरसिंह गाउँपालिकामा प्रशासनिक अन्योल: प्रशासनिक कामकाज प्रभावित

Jasus Khabar 3945+ समाचार ( )
गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यशैली तथा निर्णय प्रक्रियालाई लिएर मतभेद
५ जेठ २०८३

सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकामा पछिल्ला केही सातादेखि प्रशासनिक अवस्था अन्योलपूर्ण बन्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनाेदकुमार अधिकारी लामो समयदेखि बिदामा रहेका कारण सेवाग्राहीका काम प्रभावित भएको गुनासो बढ्न थालेको हो।


स्थानीयका अनुसार प्रमुख प्रशासकीय अधिकृत अधिकारी करिब २० दिनदेखि बिदामा छन्। यसबीच लेखा शाखा प्रमुखसमेत बिदामा रहेकाले आर्थिक तथा प्रशासनिक कामकाज प्रभावित बनेको बताइएको छ। गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद पनि लामो समय काठमाडौंमा व्यस्त रहेर हालै फर्किएको चर्चा स्थानीयस्तरमा भइरहेको छ।


चालु आर्थिक वर्षको अन्तिम चरणमा योजना सम्पन्न गर्ने, भुक्तानी प्रक्रिया टुंग्याउने तथा विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने अवस्थामा गाउँपालिकाको प्रशासनिक नेतृत्व कमजोर बनेको आरोप स्थानीयले लगाएका छन्। उपभोक्ता समिति गठनदेखि विभिन्न विकास निर्माणका कामसमेत प्रभावित हुँदा समयमै बजेट कार्यान्वयन हुनेमा आशंका बढेको उनीहरूको भनाइ छ।


यही अवस्थाबीच प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा प्रशासनिक चलखेलसम्बन्धी चर्चा पनि गाउँपालिकाभित्र चुलिएको बताइएको छ। गाउँपालिकामा कार्यरत जिन्सी तथा स्वास्थ्य शाखा प्रमुख हिरा साहको नाम विभिन्न शक्ति केन्द्रसँग जोडिएपछि प्रशासनिक वातावरण थप विवादित बनेको स्थानीयको दाबी छ।


यता कार्यवाहक जिम्मेवारी सम्हालिरहेकी गाउँपालिका उपाध्यक्षले भने प्रमुख प्रशासकीय अधिकृतको अभावमा काम अघि बढाउन कठिनाइ भइरहेको बताएकी छन्। उनका अनुसार अध्यक्षबाट कार्यवाहक जिम्मेवारी प्राप्त भए पनि प्रशासनिक नेतृत्व नहुँदा आवश्यक निर्णय तथा प्रक्रिया अगाडि बढ्न सकेको छैन।


स्थानीयवासीले आर्थिक वर्षको अन्तिम समयमा पनि विकास निर्माणका काम सुस्त हुनु, कर्मचारीबीच समन्वय अभाव देखिनु तथा प्रशासनिक विवाद बढ्दै जानुले गाउँपालिकामा बेथिति बढेको टिप्पणी गरेका छन्।


यसैबीच गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यशैली तथा निर्णय प्रक्रियालाई लिएर मतभेद बढेको चर्चा पनि भइरहेको छ। स्रोतका अनुसार केही विषयमा कानुनी प्रक्रियाअनुसार मात्रै काम गर्ने अडान लिइएपछि दुवै पक्षबीच दूरी बढेको बताइन्छ। यद्यपि, यस विषयमा सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

प्रतिक्रिया