क्लब विश्वकपमा विदाडमाथि युभेन्ट्सको सानदार जित

Jasus Khabar 3925+ समाचार ( )
९ आषाढ २०८२

फिफा क्लब विश्वकपमा इटालियन क्लब युभेन्ट्सले मोरोक्कन क्लब विदाड एसीमाथि सानदार जित निकालेको छ । 

लिङ्कन फाइनान्सियल फिल्डमा भएको खेलमा युभेन्ट्सले विदाडमाथि ४-१ गोलअन्तरको सानदार जित निकालेको हो । प्रतियोगितामा युभेन्ट्सको यो लगातार दोस्रो जित हो । 

युभेन्ट्सले खेलको छैटौँ मिनेटमा विदाडका अब्देलमोनेम बौतवालको आत्मघाती गोलबाट अग्रता लिएको थियो । त्यसपछि खेलको १६औँ मिनेटमा केनान इल्दिजले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

तर, खेलको २५औँ मिनेटमा विदाडका लागि थिम्बेन्कोसी लोर्चले गोल गर्दै युभेन्ट्सको अग्रता २-१ मा झारे । पहिलो हाफमा २-१ को अग्रता लिएको युभेन्ट्सले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

खेलको ६९औँ मिनेटमा इल्दिजले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३-१ को अग्रता दिलाए । त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा डुसान भ्लाहोभिकले गोल गरेपछि युभेन्ट्स विदाडमाथि ४-१ गोलअन्तरको सानदार जित निकाल्न सफल भयो ।

जितसँगै २ खेलबाट ६ अंक जोडेको युभेन्ट्स समूहको शीर्ष स्थानमा छ । विदाड भने अंकविहीन छ । 


प्रतिक्रिया