जब लेडी गागाको कन्सर्टमा एकैपटक हजारौं मानिसलाई बमले उडाउने योजना बन्यो

Jasus Khabar 3925+ समाचार ( )
२२ वैशाख २०८२

ब्राजिलको रियो दि जेनेरियोको कोपाकबाना समुद्री किनारमा शनिबार सम्पन्न लेडी गागाको कन्सर्टमा हजारौं ब्यक्तिहरूलाई बमले उडाउने योजना बनेको त्यहाँको प्रहरीले जनाएको छ। उक्त योजना प्रहरीले असफल पारेको जनाएको छ।

गागाको कन्सर्टमा बम आक्रमणका लागि युवाहरू परिचालन गरिएको र त्यसलाई प्रहरीले एक गोप्य ‘मिसन’बाट असफल बनाएको बीबीसीले जनाएको छ। यद्यपी कडा सुरक्षाबीच प्रहरीले गागाको कन्सर्टलाई सफलतापूर्वक सम्पन्न गराएको उल्लेख गरेको छ। प्रहरीले गोप्य मिसनको सूचना कन्सर्ट भइसकेपछि मात्रै सार्वजानिक गरेको हो।

रियो दि जेनेरियो राज्यको सिभिल प्रहरीले न्याय मन्त्रालयसँगको समन्वयमा दिएको जानकारीअनुसार केही संदिग्ध व्यक्तिहरूले सामाजिक सञ्जालमा चर्चित बन्ने उद्देश्य बोकेका युवाहरूलाई प्रयोग गरेर घरेलु विस्फोटक पदार्थ प्रयोग गरी भिडमा बिस्फोट गराउने योजना बनाएका थिए। सहभागीहरूलाई त्यसका लागि भर्तीसमेत गरेको जनाइएको छ।

प्रहरीका अनुसार उक्त योजनाका मुख्य जिम्मेवार व्यक्ति र एक किशोरलाई पक्राउ गरिएको छ। लेडी गागाको टोलीले बम आक्रमणको धम्कीको जानकारी कन्सर्टपछि भोलिपल्ट बिहान मिडिया रिपोर्टमार्फत मात्रै थाहा पाएको थियो। उक्त कन्सर्टको सो निःशुल्क थियो। जहाँ कन्सर्टमा २० लाखभन्दा बढी दर्शकहरूको भीड जम्मा भएको थियो।

प्रहरीका अनुसार आक्रमणको योजना बनाउने समूहले बालबालिका, किशोरकिशोरीहरू र एलजीबिटीक्यु समुदायविरुद्ध घृणास्पद अभिव्यक्ति फैलाउँदै आएको थियो। यस योजनाका मुख्य योजनाकारलाई ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमाबाट पक्राउ गरिएको थियो। जबकि किशोरलाई रियोमा बाल यौन शोषणसम्बन्धी सामग्री राखेको अभियोगमा नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार उनीहरूले किशोरहरूलाई अतिवादी विचारधारातर्फ प्रेरित गरेर प्रयोग गरेका थिए। जसमा उनीहरुलाई आत्मघाती हमलाका लागिसमेत तयार गरिंदै आएको जनाएको छ। लेडी गागाका प्रवक्ताले द हलिउड रिपोर्टसँग धम्कीबारे जानकारी नभएको तर कन्सर्ट सकिएपछि मात्र मिडिया रिपोर्टमार्फत थाहा पाएको बताए।

कन्सर्ट सुरु हुनु अघि र कन्सर्टको क्रममा कुनै सुरक्षा चिन्ता वा प्रहरी वा अन्य निकायबाट कुनै चेतावनी प्राप्त भएको नभएको जनाइएको छ। न्याय मन्त्रालयका अनुसार संदिग्धहरूले आफूलाई लेडी गागाका प्रशंसक र लिटिल मोन्स्टर्सका रुपमा प्रस्तुत गरेका थिए।

प्रहरीले रियो दि जेनेरियो, माटो ग्रोसो, रियो ग्रान्डे डो सुल र साओ पाउलो राज्यमा खोजी अभियान चलाउँदै विद्युतीय उपकरणहरू र अन्य सामाग्रीहरू बरामद गरेका थिए। प्रहरीले यो अभियानलाई ‘अपरेसन फेक मोन्स्टर’ नाम दिएको थियो। रियो राज्य प्रहरीको गुप्त सूचनाको आधारमा सुरु गरेको अनुसन्धान मा इन्टरनेटमा हिंसा उक्साउने समूहहरूलाइ टार्गेट गरेर अनुसन्धान गरेको थियो। प्रहरीले अतिवादी चिन्हमार्फत किशोरहरूलाई प्रभावित गरिरहेको पत्ता लगाएको थियो।

यो कन्सर्ट रियोको अर्थतन्त्र पुनर्जीवन गर्ने उद्देश्यले सहरको तर्फबाट आयोजित गरिएको थियो, जसबाट लगभग १० करोड अमेरिकी डलर (झन्डै ७५ करोड पाउण्ड) आम्दानी हुने अपेक्षा गरिएको थियो।

सुरक्षाको लागि ५,००० सुरक्षाकर्मी परिचालन गरिएको थियो। सहभागीहरूले मेटल डिटेक्टरबाट जाँच पार गर्नुपरेको थियो भने ड्रोन र अनुहार पहिचान गर्ने क्यामेरा पनि प्रयोग गरिएको थियो।

लेडी गागाले २०१२ पछि पहिलो पटक ब्राजिलमा प्रस्तुति दिएकी हुन्। यो कन्सर्ट उनको आठौं एल्बम म्याहेम प्रवर्द्धनका लागि आयोजना गरिएको थियो।

कन्सर्टमा उनले केही प्रस्तुतिहरू ब्राजिलको राष्ट्रिय फुटबल टोलीबाट प्रेरित पोशाकमा गरेकी थिइन्। ‘तिमीहरूले मलाई १० वर्षभन्दा बढी पर्खियौ।’ उनले भावुक हुँदै ठूलो भीडलाई सम्बोधन गर्दै ब्राजिलको झण्डा फहराएकी थिइन्।

प्रतिक्रिया