नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्ती, सुरक्षा सतर्कता उच्च

Jasus Khabar 3925+ समाचार ( )
२६ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । भारत र पाकिस्तानबीच पछिल्लो समय जारी तनावको प्रत्यक्ष प्रभाव नेपाल–भारत सीमामा पर्न सक्ने आकलनसहित सुरक्षा निकायहरूले सीमामा सतर्कता बढाएका छन्।


सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ उल्टीस्थित नेपाल–भारत सीमामा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती सुरु गरिएको छ।


सशस्त्र प्रहरी बल नेपाल बिओपी उल्टीका प्रमुख  प्रहरी नायब निरीक्षक ईश्वर खकुरेलले पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमामा संयुक्त गस्तीलाई थप प्रभावकारी बनाइएको जानकारी दिए। भारत–पाकिस्तानबीचको द्वन्द्वले सीमामा असर नपारोस् भन्ने उद्देश्यले दुवै पक्षबीच समन्वय गरेर सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ,” खकुरेलले भने।


उनका अनुसार सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधि हुन सक्ने सम्भावनालाई ध्यान दिँदै दुबै देशका सुरक्षाकर्मीहरू संयुक्त गस्ती, चेकजाँच र निगरानीमा सक्रिय छन्। सीमावर्ती बासिन्दालाई पनि सतर्क रहन तथा कुनै संदिग्ध गतिविधि देखेमा तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।


सुनसरीका सीमावर्ती क्षेत्रमा विशेष गस्ती, स्थायी चेकपोस्ट र मोबाइल टोली परिचालन गर्दै सशस्त्र प्रहरी बल नेपालले कडाइ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर-४ गण मुख्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले बताउनुभयो।


एसपी थापाका अनुसार सीमा क्षेत्रमा अवाञ्छित गतिविधि नियन्त्रण, अवैध ओसारपसार रोकथाम र शान्ति सुरक्षाका लागि दुवै देशबीच समय समयमा समन्वय बैठक, सूचना आदान–प्रदान तथा संयुक्त अभ्याससमेत सञ्चालन हुँदै आएको जनाएको छ।

प्रतिक्रिया