एसीसी एसिया कपको इतिहासमा पहिलोपटक फाइनलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दै छन्।>
बिहीबार राति भएको सुपर फोरको अन्तिम खेलमा बाङ्गलादेशलाई ११ रनले पराजित गरेसँगै पाकिस्तानले फाइनलमा आफ्नो स्थान पक्का गर्यो। भारत भने जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो।>
आउँदो आइतबार एसिया कपको फाइनल खेल हुँदैछ। पाकिस्तान र भारत क्रिकेटको चिरप्रतिद्वन्द्वी हो। त्यस्तोमा दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने हुँदा एसिया कपको फाइनल निकै रोमान्चक हुनेछ।>
जारी प्रतियोगितामा भारत र पाकिस्तान तेस्रो पटक आमने-सामने हुँदैछन्। भारत र पाकिस्तानले खेलेको यसअघिको दुई खेलमा भारतले पाकिस्तानलाई हराएको छ। पाकिस्तान समूह चरणमा भारतसँग ७ विकेटले हारेको थियो। त्यस्तोमा भारतले सुपर फोरमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्यो।>
आइतबार हुने फाइनलमा भारतविरुद्ध पाकिस्तानलाई बदला लिने मौका हुनेछ। जारी प्रतियोगितामा दुई हारको बदला पाकिस्तानले फाइनलमा लिनेछ। यता, भारत पनि आफ्नो अपराजित यात्रालाई कायमै राख्दै उपाधि चुम्ने लक्ष्यमा रहनेछ।>
एसिया कपको १७औँ संस्करणमा आएर मात्र भारत र पाकिस्तान फाइनलमा भिड्न लागेका हुन्। एसिया कपको सर्वाधिक विजेता राष्ट्र भारत हो। भारतले ८ पटक एसिया कपको उपाधि जितेको छ। त्यस्तोमा पाकिस्तानले २ पटक मात्र उपाधि हात पारेको छ।>
टेस्ट म्याचमा भारत र पाकिस्तानले ५९ खेल खेलेका छन् जहाँ ९ पटक भारत विजय हुँदा पाकिस्तानले भारतमाथि १२ पटक विजयी हासिल गरेको छ।>
त्यस्तै, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानले १३६ वटा खेल खेलमा छन् जहाँ पाकिस्तानले ७३ पटक जितेको छ भने भारतले ५८ पटक जित हात पारेको छ।>
टी-२० आईमा टोली १५ पटक आमने-सामने भएका छन्। यस्तोमा भारतले पाकिस्तानलाई १२ चोटी हराएको छ भने पाकिस्तानले भारतलाई तीन पटक मात्र हराएको छ।>
टी-२० आईमा भारत नै बलियो रूपमा देखा परेको छ। एसिया कप पनि सोही फर्म्याटमा छ। जारी प्रतियोगितामा भारत र पाकिस्तानको विवाद पनि चुलिएको छ।>
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले एसिया कपको खेलका क्रममा मैदानमा गरेको गतिविधिका कारण पाकिस्तानी खेलाडी हरिस रौफ र साहिबजादा फरहानमाथि उजुरी गरेको छ।>
गत आइतबार एसिया कपको सुपर फोरको खेलका क्रममा रौफ र साहिबजादाले समर्थकहरू उत्तेजित बनाउने किसिमको सेलिब्रेसन गरेको आरोपमा बिसिसिआईको ती दुई खेलाडीमाथि आइसिसीमा उजुरी गरेको हो। त्यस्तै, भारतीय खेलाडीले पाकिस्तानी खेलाडीहरूसँग खेलेको दुवै खेलमा हात मिलाएका थिएनन्।>
यो अवस्थामा विवाद अनि उपाधिको लागि भिडन्त आइतबार यूइईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रगंशालामा फाइनल खेल रोचक हुने पक्का छ।>>