शिक्षा मन्त्रीलाई मद्रसा सराेकारवालाहरूकाे ज्ञापनपत्र

Jasus Khabar 3925+ समाचार ( )
२४ वैशाख २०८२

जासुस संवाददाता । काठमाडाैँ ।

चर्चित विद्यालय शिक्षा संधाेधन विधेयकमा मद्रसा शिक्षामाथि विभेद भएकाे भन्दै राष्ट्रिय मुस्लिम समन्वय समितिले आज शिक्षा मन्त्री रघुजी पन्तलाई दश बुंदे ज्ञापनपत्र बुझाएकाे छ ।


ज्ञापनपत्र बुझाएपछि शिक्षा मन्त्री पन्तले विषयवस्तुलाई गम्भीर रूपमा लिएकाे बताए । उनले यसमा थप छलफल हुने बताए । मन्त्री पन्तले मद्रसा शिक्षालाई उत्पादन र राेजगारसँग जाेड्दै मूलधारमा ल्याउनु पर्ने बताए ।


ज्ञापनपत्र बुझाएपछि जासुस सम्वाददातासँग कुरा गर्दै समितिका सहसंयाेजक माेहम्मद युनुस अहमरले भने, 'ज्ञापनपत्रमा संस्कृत शिक्षा, मद्रसा, गुरुकुल, गुम्बा शिक्षालाई विधेयकमा सार्वजनिक गुठीकाे रूपमा र सामुदायिक विद्यालयहरूलाई सार्वजनिक विद्यालयकाे रूपमा वर्गीकरण गरिएकाेमा सार्वजनिक विद्यालय मात्र सरकारकाे खर्चबाट चल्ने व्यवस्था राखिएकाे हुँदा संस्कृत, मद्रसा, गुरुकुल र गुम्बा शिक्षामा पनि सरकारकाे खर्च हुनुपर्ने विषय उठाइएकाे छ ।' 


उनका अनुसार ज्ञापनपत्रमा सार्वजनिक गुठीकाे रूपमा प्रस्तुत गरिएका यी परम्परागत शैक्षिक संस्थाहरूका लागि छुट्टै बाेर्ड गठन गर्न सकिने प्रावधान ऐनमा राखि दिनु पर्ने कुरा उल्लेख छ ।


समितिका सहसंयाेजक अहमर हाशमीकाे नेतृत्वमा गएकाे प्रतिनिधि मण्डलमा पूर्व राज्यमन्त्री तथा सांसद हसिना खान, सांसद जावेदा खातुन जागा, पूर्वमन्त्री अकबाल अहमद शाह, नेकपा एसका नेता ताज माेहम्मद मियाँ, माओवादी केन्द्रका नेता नजिबुल्लाह अन्सारी, मुस्लिम संघका अध्यक्ष अताबुल मन्सुरी, इस्लामी संघका पूर्व अध्यक्ष माैलाना गुलाम रसूल फलाही लगायतकाे सहभागिता थियाे ।


यसअघि समितिले नेपाली काँग्रेसका महामन्त्री गगन थापा, राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडा र शिक्षा समिति सभापति अम्मरबहादुर थापालाई साेही ज्ञापनपत्र बुझाएकाे थियाे ।



विद्यालय शिक्षा ऐनमा समितिले सुझाएकाे विषय न समेटेमा मद्रसा, गुरुकुल, गुम्बामाथि भइरहेकाे राज्यकाे लगानीकाे कानूनी व्यवस्थापन नहुने भएकाेले त्याे सुविधा कुनै बेला पनि राेक्न सकिने जाेखिम रहन्छ भन्ने समितिकाे बुझाइ रहेकाे छ ।

प्रतिक्रिया