अजमल अन्सारी>
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका जिल्ला सभापति जिवन कुमार श्रेष्ठले आफूले सम्हाल्दै आएको जिल्ला सभापतिको जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले आइतबार एक विज्ञप्ति जारी गर्दै आजकै मितिदेखि आफू जिल्ला सभापति पदबाट अलग्गिएको घोषणा गरेका हुन् ।>
श्रेष्ठले पार्टी नेतृत्व, सहयात्री, शुभेच्छुकप्रति आभार व्यक्त गर्दै अब सामान्य सदस्यको रूपमा मात्र रहने निर्णय लिएको उल्लेख गरेका छन् । करिब ३७ महिनाको राजनीतिक यात्रामा आफूले पार्टीप्रति गरेको योगदानका बाबजुद पनि अनुचित व्यवहार, उपेक्षा र प्रतिशोधपूर्ण कार्यको सामना गर्नुपरेको उल्लेख गर्दै उनले राजीनामा दिन बाध्य भएको जनाएका छन् ।>
>
श्रेष्ठले २०७९ को संघीय निर्वाचनमा क्षेत्र नं. १ मा अर्को उम्मेदवारको पक्षमा आफ्नो उम्मेदवारी सुम्पेर आफैं क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका थिए । तर, त्यस योगदानको कदर गर्नुको सट्टा आफूलाई निलम्बन गरिएको र हाल उच्च अदालत मोरङमा दायर रिटमा समेत प्रतिवादी बनाइएको गुनासो गरेका छन् ।>
>
“वकिल राख्न नसक्ने अवस्थासम्म पुग्दा पनि पार्टी नेतृत्वले कुनै चासो नदेखाउनु, संवाद गर्नसमेत आवश्यक नठान्नु दुःखद् पक्ष हो,” श्रेष्ठले भनेका छन् ।>
>
उनले पार्टीभित्र गुटगत आधारमा पालिकास्तरीय अधिवेशन सम्पन्न गरिएको, असक्षम समूहलाई अघि सारेर संगठन विस्तार गरिएको र योग्य कार्यकर्ताको उपेक्षा गरिएको आरोप पनि लगाएका छन् ।>
>
श्रेष्ठका अनुसार जिल्ला समितिको नाममा आफ्ना नातेदार र निकट व्यक्तिहरूलाई प्राथमिकतामा राखिँदा संगठनमा पारदर्शिता र विश्वसनीयता कमजोर भएको छ ।>
>
राजीनामासँगै उनले आगामी जिल्ला अधिवेशनमा समेत भाग नलिने घोषणा गरेका छन् । यद्यपि, उनले पार्टीको पुनर्संरचना र शुद्धीकरणको काम सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।>
>
श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, “राजनीतिक जिम्मेवारीको अन्त्य भए पनि मेरो आवाज सधैं नैतिकता, सुशासन र बेथितिविरुद्ध उठिरहनेछ ।”>
>
गत प्रतिनिधि सभानिर्वाचन-२०७९ मा सुनसरी क्षेत्र-४ बाट रास्वपाका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले ३ हजार १ सय ८१ मत ल्याएर पराजित भएका थिए । >
>