नेपाली बक्सर अविरल घिमिरे फेरि जापानको रिङमा, ओडा जिन्कुसँग भिड्दै

Jasus Khabar 3925+ समाचार ( )
३० वैशाख २०८२

 ‘हिमालयन चितुवा’ को नामले परिचित नेपाली किक बक्सर अविरल घिमिरेले जापानको ओसाका शहरमा आयोजना हुने ‘के वन क्रस १७५’ प्रतियोगितामा जापानी च्याम्पियन ओडा जिन्कुसँग प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल–जापानबीचको यो प्रतिष्ठित किक बक्सिङ प्रतियोगिता जेठ ४ गते हुनेछ।

प्रतियोगिताका लागि अविरलले थाइल्याण्डको फुकेटस्थित टाइगर मोथाई क्लबमा डेढ महिना आफ्नै खर्चमा बन्द प्रशिक्षण लिएका थिए। पूर्व अन्तर्राष्ट्रिय बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देव घिमिरेका अनुसार अविरल उच्च तयारीका साथ प्रतियोगितामा उत्रिन लागेका हुन्।

हालै अविरलले टोकियोमा आयोजित ‘के वान वर्ल्ड म्याक्स २०२५’ प्रतियोगितामा जापानी बक्सर यसुहितो सिरासुलाई पराजित गर्दै उपाधि जितेका थिए। त्यसअघि, गत कात्तिकमा जापानको नागोयामा सम्पन्न ‘इस्का’ अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सेली बक्सर एन्टोनिन मार्कोनीलाई हराउँदै ‘वल्र्ड च्याम्पियन’ बन्न सफल भएका थिए।

अन्तर्राष्ट्रिय किक बक्सिङमा उनले फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, थाइल्याण्ड, नेदरल्याण्ड, र बोलिभियाका बक्सरलाई पराजित गर्दै नेपालको नाम विश्वमञ्चमा उचो बनाएका छन्।

अविरल हाल आफ्ना पिता देव घिमिरेका साथ जापानको नागोया सहरमा बसोबास गर्दै आएका छन्। देव घिमिरे सन् २००४ मा दक्षिण कोरियाको सोलमा आयोजित ‘के वान प्रोफेसनल किक बक्सिङ’ प्रतियोगितामा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन्। अविरलको परिवारको स्थायी ठेगाना चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारा बलम्बू हो।

प्रतिक्रिया