संघीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ। सभामुखको अध्यक्षतामा आज बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।>
लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो। सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद् सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो।>
कैलालीको धनगढी उपमहानगरपालिका–१ शान्तिनगरमा जन्मिएका दुरा २०४६ साल फागुन १९ गते निजामती सेवामा प्रवेश गरेका थिए। विसं २०५२ देखि उनले संघीय संसद् सचिवालयमा सेवा गरेका छन्।।>
राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका दुराले संसद् सचिवालयमा प्रशासन महाशाखा, संसदीय समितिको सचिवलगायत पदमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेका छन्। उनी हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिव छन्।>
दुराले आजै सिंहदरबारस्थित कार्यालयमा पदबहाली गरेका छन्। नवनियुक्त सचिव दुरालाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत पदाधिकारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिए।>>