हमासले बुझायो २० जीवित बन्दीको नाम इजरायललाई, आइतबारसम्म मुक्त हुने सम्भावना

Jasus Khabar 3970+ समाचार ( )
२४ अशोज २०८२

 गाजामा युद्धबिराम सहमति भएसँगै हमासले २० जना जीवित युद्धबन्दीको नाम इजरायललाई बुझाएको छ।

अमेरिकाले प्रस्ताव गरेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा बिहीबार दुवै पक्षले हस्ताक्षर गरेका थिए।

युद्धबिरामसँगै हमासले जीवित बन्दीहरूको सूची बुझाएको हो। यो सूचीमा नेपाली बन्दी विपीन जोशीको नाम भए/नभएको खुलेको छैन। यद्यपि बुधबार सार्वजनिक पुरानो भिडियोसँगै जोशी मुक्त हुने सम्भावना बलियो भएको छ।

२० जीवित बन्धकहरूलाई सम्भवत आइतबार एक साथ रिहा गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हमासले २० बन्धकहरू रिहा गर्नेछ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरू रिहा गर्नुपर्ने छ।

सेप्टेम्बर २९ मा पहिलोपटक घोषणा गरिएको २०-बुँदे योजनामा ​​प्यालेस्टिनी कैदीहरूको बदलामा सबै इजरायली बन्दीहरूको रिहाइ, युद्धविराम, हमासको निशस्त्रीकरण र गाजाको पुनर्निर्माणलगायतका योजनाहरू समावेश थिए।

गाजामा अहिले रहेका २० बन्दीहरूबाहेक अरू जीविते रहने सम्भावना नरहेको पनि सञ्चारमाध्यमहरूले लेखेका छन्। यता इजरायलमा भने ११ हजारभन्दा बढी प्यालेस्टिनी जेलमा रहेको इजरायली मानव अधिकार समूह सेन्टर फर द डिफेन्स अफ द इन्डिभिजुअल (हामोकेड) ले जनाएको छ।

अक्टोबर २०२३ यता हजारौँ प्यालेस्टिनीहरूले इजरायल युद्धमा ज्यान गुमाएका छन्।

प्रतिक्रिया