मन्ताभीरमै अड्किएको राष्ट्रिय गौरवको लोकमार्ग

Jasus Khabar 3925+ समाचार ( )
८ आषाढ २०८२

 केही समयअघि जनतासँग माओवादी अभियान लिएर मध्यपहाडी पुष्पलाल लोकमार्गको देश दौडाहमा निस्केका प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अछाम, दैलेख हुँदै मध्यपहाडी लोकमार्गको बाटोबाट जाजरकोट भित्रिए। कार्यकर्ताहरू दैलेख र जाजरकोटको सिमाना सुयाडा पुगेर भब्य स्वागत गरे। बेलुका सदरमुकाम खलंगामा बस्ने योजना बनाएका प्रचण्ड मध्यपहाडी राजमार्ग हुँदै आउन सकेनन्। 

जिल्लाको छेडागाड नगरपालिका थलह बजारबाट मोडिएर छिन्चु जाजरकोट सडकको छेडाबजार हुँदै सदरमुकाम आइपुगे। कारण थियो मध्यपहाडी लोकमार्गको मन्ताभीर। वर्षौंदेखि अलपत्र हुँदा सो बाटो हुँदै आउने उनको योजना पुरा हुन पाएन। उनले ठेकेदार कम्पनीको लापरबवाहीका कारण जाजरकोट खण्डमा मध्यपहाडी लोकमार्गको ट्र्याक नै नखुलेको पहिलो पटक जानकारी पाए। उनले वर्षौंदेखि अलपत्र परेको सडक बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता गरेर फर्किए।

त्यस्तै, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि गतवर्ष एमालेको मध्यपहाडको जागरण अभियानमा देश दौडाहमा निस्किए। तर मन्ताभीरको बाटो छलेर सुर्खेत हुँदै जाजरकोट आइपुगे। लोकमार्गको अलपत्र मन्ताभीर बारेमा कार्यकर्ताले जानकारी गराएपछि ओलीले अलपत्र बाटो तत्काल बनाउन पहल गर्ने आश्वासन दिदै फर्किए। तर, अहिलेसम्म उक्त सडकखण्डको जाजरकोटको छेडागाड नगरपालिका १३ मन्ताभीर र आसपासको करिब २ किलोमिटर सडक बन्न नसक्दा मध्यपहाडी लोकमार्गमा सिधा यातायात सञ्चालनमा कठिनाई भैरहेको व्यवसायीहरू बताउँछन्। मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डको निर्माणको जिम्मा लिएको निर्माण कम्पनी शर्मा/सिंह एण्ड ब्रदर्श जेभीको चरम लापरवाहीले सडक अलपत्र अवस्थामा छ। निर्माणको कामले गति लिन सकेको छैन। वर्षौंदेखि मन्ताभीरको ट्र्याकसमेत खुलाउन सकेको छैन।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको काम निर्माण व्यवसायीको लापरवाहीका कारण लगातार पाँच पटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन। शर्मा/सिंह एन्ड ब्रदर्श जेभीले २०७५ सालमा भेरी नगपालिका १३ कुदु, जगतीपुर, कार्कीगाँउ,काँडा, झाप्रासम्म चारवटा प्याकेजमा स्तरोन्नतिसहित कालोपत्रेका पहिलो प्याकेज ४८ करोड ५८ लाख ४२ हजार ७१९ रुपैयाँ र दोस्रो प्याकेज ५० करोड २७ लाख ८४ हजार २६८ रुपैयाँमा सम्झौता गरेको थियो। 

दुई वर्षभित्र निर्माण सम्पन्न गर्न लिएको काम ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण सात वर्षसम्म निर्माण नहुँदा सर्वसाधारणले सास्ती पाउने गरेका छन्। सोही खण्ड अन्तर्गत तेस्रो र चौथो प्याकेज २०७६ मा निर्माण सम्पन्न गर्न सडक विभागसँग ४२ करवड १ लाख ८९ हजार ९६३ र ४० करोड ५७ लाख ८२ हजार ६३९ रुपैयाँमा शर्मा/सिंह एण्ड ब्रदर्श जेभीले सम्झौता गरेको थियो।

पहिलो र दोस्रो प्याकेजको ६ पटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन। त्यसैगरी तेस्रो र चौथो प्याकेज तीन पटक म्याद थप गरिएको छ। पटकपटक म्याद थप गरे पनि कामले गति लिन नसकेको हो। मध्यपहाडी लोकमार्गको कुदुदेखि कार्कीगाउँ, काँडा हुँदै झाप्रासम्मको निर्माणको जिम्मा लिएको शर्मा/ सिंह एण्ड ब्रदर्श जेभीले लापरबाही गरेपछि सर्वसाधारणले आउजाउमा दुःख पाउने गरेको भेरी नगरपालिका–९ का पूर्णदेव शर्माले बताए।

छेडागाड नगरपालिका १३ का गणेशबहादुर वस्नेतले सरकारले करोडौ बजेट लगानी गरेपनी ठेकेदारको लापरवाहीले बर्खामा हिलाम्य, हिउँदमा धुलाम्य बाटोमा हिँड्नु परेको गुनासो गरे। भेरी नगरपालिका जगतीपुर, भुर, छेडागाड नगरपालिकाको कार्कीगाउँ, काँड, झाप्रा सडक खण्ड जोखिम रहेको छ। मध्यपहाडी लोकमार्ग जाजरकोट खण्ड ट्र्याक खुलेको एक दशक भन्दा बढी भयो छेडागाड नगरपालिका १२ स्थित मन्ताभीर ट्र्याक खुलेको छैन। सोही ठाँउमा ट्र्याक नखुलेपछि बाटो मोडेर छेडाचौर जानु पर्ने बाध्यता छ। 
काठमाडौं पोखरा लगायतका सहरमा पनि सीधा यातायात सञ्चालन हुन सकेको छैन। रुकुमपश्चिमबाट मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालन भइरहेको भए पनि यही मन्ताभीर भेरी नदीमा पुल नहुँदा सुदूरपश्चिम जोड्ने यो बाटो सञ्चालनमा आउन नसकेको हो। मन्ताभीरका कारण जाजरकोट खण्ड नखुल्दा सुदूरपश्चिमका पहाडी जिल्लाबाट पोखरा काठमाडौं सिधा यातायात सञ्चालनमा समस्या परेको यातायात व्यवसायी शम्भु मल्ल बताउँछन्।

यथासिघ्र सडक निर्माणका लागी जनप्रतिनिधिले सरोकारवाला निकायलाई बारम्बार आग्रह गर्दा पनि कामले गति लिन नसकेको प्रतिनिधिसभा सदस्य मैना कार्की रावलले बताइन्। लोकमार्ग अन्तर्गत कुदु–गिमा खण्डको काम अहिले पनि अलपत्र अवस्थामा छ। कार्कीगाँउ–मन्ताभीर खण्ड पनि खुल्न सकेको छैन। मन्ताभीर–थलह खण्डको काम पनि कछुवाको गतिमा भइरहेको छ। 

यो खण्ड राप्ती माइनिङ कम्पनीलाई पेटीमा दिइएको छ। निर्माण कम्पनीले काम गदै छोड्दै गर्ने गरेका छन्। कामको गुणस्तर पनि निकै कमजोर छ। कालोपत्रे गर्ने क्रममा स्टमेट अनुसार नगरिएको स्थानीयको भनाई छ। करीब करोड रुपैयाँको हाराहारीमा स्थानीय कामदार र पेटी ठेकेदारले काम गरेको पैसा समेत नपाएको गुनासो गरेका छन्। छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापा पनि कामको गुणस्तर र गतिबारे सन्तुष्ट छैनन्। सम्बन्धित निकायमा पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ।

गुणस्तर र कामको गतिका बारेमा पटक पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले काममा बेवास्ता गरिरहेको मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड दैलेखमा कार्यरत इन्जिनियर रविन कार्कीले बताए। उनले निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि ठेकेदार कम्पनीको लापरबाहीले काम सम्पन्न हुन नसकेको बताए। पटक–पटक ताकेता गर्दा पनि कामले गति लिन नसकेको उनको भनाइ छ।

तर, निर्माण कम्पनी सिंह एन्ड ब्रदर जेभीका प्रोपराइटर कमल उप्रेतीले आफूहरूको लापरबाही अस्वीकार गर्दै सरकारी ढिलासुस्तीले गर्दा नै काममा ढिलाई भएको दावी गरे। ‘स्टमेट भन्दा बढी काम गरिएको तर उक्त रकमको दावी गर्दा भेरिएसन गर्नुपर्नेमा प्रमाणित गर्न ढिलाई हुँदा काममा पनि समस्या आएको हो। काम भैरहेको हो आगामी दशै भित्रै गाडी गुड्न मिल्ने सडक बन्छ’ उनले भने, ‘कोरोना महामारी, भौगोलिक विकटता र प्रक्रियागत झन्झटले गर्दा समयमा भुक्तानी नपाउने लगायतका समस्याले ढिलाइ भए पनि अब हुँदैन। कामले छिट्टै गति लिन्छ।’ 

प्रतिक्रिया