किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माओवादीको माग

Jasus Khabar 3945+ समाचार ( )
२५ वैशाख २०८२

 नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुख्य बाली धान रोप्ने तयारी भइरहेका बेला किसानहरूले मलको अभाव झेल्नुपरेको बताए।

उनले भने, ‘हरेक वर्ष जब मुख्य बाली धान रोप्न तयारी हुन्छ, किसानले समयमा पर्याप्त मल पाउँदैनन्, कोटा प्रणाली मार्फत मल वितरण हुन्छ तर त्यो व्यवहारिक र सहज छैन, किसानले ५० किलो मल माग गर्दा मुस्किलले ५ किलो मात्रै पाउँछन्।’

सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १६ मा ज्यादै लोकप्रिय प्रकारको कार्यक्रम अगाडि सारिएको भए पनि किसानकहाँ जाँदा किसानहरूले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको बताए।

उनले भने, ‘म मुख्यबाली धानको तयारी हुँदै गर्दा पर्याप्त मात्रामा मलको उपलब्धता गराउने र ६ महिना देखि किसानले बेचेको दुधको पैसा डिडिसिले भुक्तानी गर्न सकेको छैन, यस दिशामा नेपाल सरकार र खासगरी कृषि मन्त्रालयको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु।’


प्रतिक्रिया