अजमल अन्सारी>
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-५ बसन्तपुर स्थितमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुर सुनसरीको उद्घाटन गरिएको छ ।>
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय पकली सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्युपानेले नवनिर्मित भवनको उद्घाटन गर्दै शान्ति,सुरक्षा प्रतिबद्धताको महानतम जिम्मेवारीलाई पालन गर्दै राज्यले दिएको निर्देशनलाई अक्षरशस् पालन गर्नु सबैको कर्तव्य रहेको बताउनुभएको छ ।>
>
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका स.प्र.ना.म.नि. न्युपानेले सिमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न कडाइका साथ निगरानी बढाउनु पर्ने तथा सिमा सुरक्षा र नागरिकको जिउधनको रक्षा गर्ने कार्यमा दिनरात क्रियाशिल रहन पनि निर्देशन दिनुभयो। वहाँले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारीमा तल्लीन भएर सशस्त्र प्रहरीले काम गरिरहेको बताउनुभयो । वहाँले मुलुकको भूमि एक इञ्च पनि तलमाथि नहुने गरी सशस्त्र प्रहरीले संवेदनशील भई काम गर्ने बताउनुभयो। >
>
कार्यक्रमलाई सम्बोधन गर्दै न्युपानेले देशको विषम परिस्थितिमा थप जिम्मेवार भएर काम गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिदै नेपालको सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै अबैध चोरी निकासी, पैठारी रोकथाम तथा सीमा अतिक्रमण समेतलाई जिम्मेवार भएर काम गर्न सुझाव दिनुभयो । >
>
यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले सशस्त्र प्रहरी बल बिओपीको उक्त भवन उद्घाटन गर्दै पालिकाको शान्ति सुरक्षा र सीमा क्षेत्रमा हुने घटना नियन्त्रणमा सशस्त्र प्रहरीको अहम् भूमिका रहेको हुनाले सुरक्षाकर्मीको सुरक्षाका लागि आफू र गाउँपालिकाको कार्यालय सदैव अग्रसर रहेको बताउनुभयो । अध्यक्ष अन्सारीले सशस्त्र द्वन्दको विषम परिस्थितिमा स्थापना भई शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो। वहाँले विपद्का वेला उद्धार, संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। >
>
बिओपी बसन्तपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण मुख्यालय सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाले सीमाको सुरक्षासँगै स्थानीय समुदायसँगको सहकार्य सशस्त्र प्रहरीको प्रमुख प्राथमिकता रहेको बताए ।>
>
उहाँले नवनिर्मित भवन सञ्चालनमा आएसँगै सीमामा सुरक्षात्मक गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै भवन निर्माणमा सहयोग गर्ने सम्पूर्ण निकाय र स्थानीयवासीप्रति आभार प्रकट गर्नुभयो ।>
>
बिओपीको नाममा ५ कट्ठामा ओम बालाजी निर्माण सेवा सिराहाले प्राप्त गरेको ठेक्कामा विनियोजित रकम १ करोड ७० लाख ५२ हजार २ सय ५२ रुपैयाँको लागतमा कार्यालय भवन, व्यारेक, मेशसहितका भवन निर्माण गरिएको हो ।>
>
भवन उद्घाटन समारोहमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवे, राष्ट्रिय अनुसन्धान कार्यालय जिल्ला सुनसरीका प्रमुख उपरीक्षक बिमल घिमिरे, भन्सार कार्यालय सुनसरीका प्रमुख राधेश्याम दाहाल, स्थानीय जनप्रतिनिधि,सामाजिक व्यक्तित्व र सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण अन्तर्गतका युनिट प्रमुखहरुको पनि उपस्थिति रहेको थियो।>
>