आफ्नो कार्यकालको एक वर्ष पुगेलगत्तै ‘बोल्ड डिसिजन’ लिने : प्रधानमन्त्री

Jasus Khabar 1+ समाचार ( )
६ पौष २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालको एक वर्ष पुगेलगत्तै ‘बोल्ड डिसिजन’ लिने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्मित ४०० केभी इनरुवा सबस्टेसन उद्घाटनका क्रममा शुक्रबार उनले आफू नयाँ ‘धक्का’को नजिक पुगेको बताएका हुन् ।

प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने कोसिस गरिरहेको उनले उल्लेख गरे । अबको निर्णय जनताको साथमा हुने उनले बताए ।

“मेरो अब एक वर्ष पूरा हुँदै छ, प्रधानमन्त्री भएर तेस्रो कार्यकाल सुरु गरेको । एक वर्ष पूरा भएपछि मैले नयाँ ढंगले केही धक्का दिएर क्रमभंग गर्दै छु अर्को । त्यति बेला आमनेपाली जनताको साथ रहने विश्वास समेत व्यक्त गर्न चाहन्छु । मानिसहरूमा अहिले एउटा भाष्य बडो नराकात्मक,  जनतालाई निराश पार्ने– नेपाल अँध्यारोमा छ, कहीँकतै उज्यालो छैन, नेपाल बस्न लायक छैन भन्ने गलत प्रचारको भाष्य बनेको छ,” उनले भने, “म यो मञ्चबाट आमनेपाली जनतालाई यो नकारात्मक भाष्यबाट निराश बनाउने र देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गर्न चाहन्छु । नेपाल उज्यालो छ । नेपालमा धेरै सम्भावना छ । धेरै चिज गर्न सकिन्छ । यो विश्वास जनतामा जगाउन सरकार लागिपरेको छ । एकताको बलमा सरकार अघि बढेको छ । छिट्टै सारा निराशा अन्त्य हुनेछ ।”

जनतालाई निराश पार्ने भाष्यप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसबाट टाढा रहन आग्रह गरे । उनले देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल समेत गरे । सारा नेपालीको निराश चाँडै नै आशामा परिणत हुने उनको भनाइ छ ।

प्रतिक्रिया