झापामा नेपाली सेनाद्वारा विद्यालयस्तरीय एनसीसी तालिम सुरु

Jasus Khabar 3958+ समाचार ( )
११ आषाढ २०८२

नेपाली सेनाले झापामा विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सुरु गरेको छ। चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले जिल्लाका ७ वटा सामुदायिक र संस्थागत विद्यालयमा यो तालिम सञ्चालन गरिरहेको हो।

अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यात र सेनानी सुरेन्द्र योगीले सोमबार इष्ट होराइजन इङ्गलिस स्कुल धुलावारी, एरा एभरग्रिन इङ्गलिस स्कुल बुद्धशान्ति, धुलावारी माध्यमिक विद्यालय, टावर टेम्पल इङ्गलिस स्कुल बिर्तामोड, र शनिश्चरे मा.वि. शनिश्चरेमा तालिमको उद्घाटन गरेका थिए।

मंगलबार भने झिलझिलेस्थित सेभेन सिज पब्लिक इङ्गलिस स्कुल र दमकस्थित झापा मोडल इङ्गलिस स्कुलमा ५१औँ जुनियर डिभिजन एनसीसी तालिमको उद्घाटन भएको छ।

नेपाली सेनाको चारआलीस्थित अरिदमन गणका सेनानी नरेन्द्रप्रसाद खतिवडाका अनुसार उद्घाटन भएका विद्यालयहरूमा सोमबारदेखि नै तालिम सुरु भइसकेको छ।

कुल १०० दिनको यस तालिममध्ये ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ। बाँकी २१ दिनको तालिम भने ‘क्लोज क्याम्प’ का रूपमा मोरङको याङशिलास्थित राष्ट्रिय सेवा दलको पूर्वी तालिम शिक्षालयमा हुने गणपति बस्न्यातले जानकारी दिए।

यस तालिमले विद्यार्थीहरूलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमान्दारिता र वफादारिताका बारेमा प्रशिक्षित गर्नेछ। सैन्य ज्ञानका साथै मानवीय र सामाजिक सेवा, विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरण लगायतका विषयमा पनि विद्यार्थीहरूले जानकारी पाउनेछन्।

झापामा यो वर्ष २१० जना विद्यार्थीलाई तालिममा सहभागी गराइने गणले जनाएको छ। हरेक विद्यालयबाट १५ जना छात्र र १५ जना छात्रा गरी ३० जना सहभागी हुन पाउनेछन्। जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई समावेश गरिएको छ।

तालिमपश्चात् विद्यार्थीहरूमा अनुशासन, वफादारिता, इमानदारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकासमा थप सहज हुने अपेक्षा गरिएको छ।

यसका अतिरिक्त, विद्यार्थीहरूले एरोविक्स, तेक्वान्दो, आइकिदो, विपद् व्यवस्थापनमा उद्धारका लागि स्वयंसेवी भूमिका तथा अन्य साहसिक तालिमहरू पनि पाउनेछन्।

तालिममा प्रथम हुने विद्यालयका विद्यार्थीहरूलाई विभिन्न मुलुक भ्रमणमा पठाउने गरिएको छ।

“अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्श वाक्य बोकेको राष्ट्रिय सेवा दलले “राष्ट्रिय सेवा दल ऐन २०२७” मा आधारित रही वि.सं. २०२२ देखि हालसम्म सफलतापूर्वक तालिम सञ्चालन गर्दै आएको छ।

हालसम्म सिनियर डिभिजनतर्फ १४ हजार १३५ जना र जुनियर डिभिजनतर्फ ६८ हजार ४९ जना गरी कूल ८२ हजार १८४ जना क्याडेट छात्रछात्राहरूले एनसीसी तालिम प्राप्त गरिसकेका छन्।

राष्ट्रिय सेवा दलको बढ्दो मागलाई सम्बोधन गर्न नेपाल सरकारले यस तालिमलाई विशेष प्राथमिकतामा राखेको छ।

यस आर्थिक वर्ष ०८२/८३ मा नेपालका ७७ वटै जिल्लाका २५७ वटा विद्यालयहरूमा सिनियर १ हजार ८० र जुनियर ६ हजार ६३० गरी जम्मा ७ हजार ७१० जना क्याडेट छात्रछात्राहरूलाई सहभागी गराई राष्ट्रिय सेवा दल तालिम सञ्चालन गर्ने योजना रहेको छ।

सरकारमार्फत नेपाली सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदान–प्रदान कार्यक्रम पनि सञ्चालन गर्दै आएको जनाइएको छ।

 

प्रतिक्रिया