दाइजो प्रथा: कानुन कडा, कार्यान्वयन कमजोर: ईरफान सिद्दीकी

Jasus Khabar 3925+ समाचार ( )
३१ आषाढ २०८२

दाइजोले मानिस मात्र मारेको छैन, आत्मसम्मान, आस्था, र मानवता पनि मारेको छ।

दाइजोले महिलाको मूल्य तोक्छ !


यो सोच कति अमानवीय हो भन्ने बुझ्न ठूलो अध्ययन चाहिन्न। ‎एक छोरीको स्कुलमा पढ्ने, आफ्नो करियर बनाउने, र स्वतन्त्र जिन्दगी बाँच्ने सपना सबैभन्दा पहिले दाइजोले मार्छ। कहिलेकाहीँ लाग्छ, के छोरी जन्मिएपछि आमाबुबाले बैंक ब्यालेन्स तयार गर्न थाल्नुपर्ने हो? ‎के विवाहको सर्त मोटरसाइकल, सुनको सेट हुनुपर्छ?

कानुन छ, तर गाउँ घरसम्म पुग्दैन !


‎नेपालको मुलुकी अपराध संहिता, २०७४ ले दाइजो माग्ने, दिने वा लिनेलाई प्रतिबन्ध लगाएको छ। तर मेरो रिपोर्टिङ अनुभव भन्छ , कानुन कागजमा कडा छ, व्यवहारमा बेकामे। गाउँमा जब एउटा छोरीको विवाह हुन्छ, उसलाई उपहारको नाममा हजारौं ,लाखौं रुपैयाँका सामान दिइन्छ ,जबर्जस्ती, डर, र समाजको दबाबले। ‎यी उपहार होइनन्, पिताको घरको टाउको दुखाइ हुन्, जुन तगारो भएर छोरीको जिन्दगीमा प्रवेश गर्छ।

समाज चुप छ, र यही मौनता अपराध हो !


‎म धेरै अभिभावकहरु काे मुखबाट सुनेको छु । उनीहरू भन्छन्  “ के गर्ने, समाज यस्तै छ । ”‎समाज यस्तो छ तर ! यो समाज पनि हामी आफै बनाएका छौ । मौनता एउटा दाइजो माग्ने हात बन्न पुग्छ। सामाजिक दबाबमा अभिभावकहरूले नचाहँदै दाइजो दिन्छन्, महिलाहरू मौन सहन्छन्, र अपराधीहरू प्रोत्साहन पाउँछन्।

अन्त्य होइन ! आरम्भ चाहिएको छ !


‎दाइजोविरुद्धको लडाइँ एउटा समाचार लेखेर सकिँदैन, ‎यो हरेक अभिभावकले उठाएको आवाज, हरेक शिक्षकले दिएको चेतना, र हरेक युवाले गरेको इन्कारबाट सुरु हुन्छ।

‎हामी, सञ्चारकर्मी, कलम चलाउने मात्र होइन, परिवर्तनको भाषा लेख्ने हो।

‎दाइजो प्रथा कुनै जात, धर्म, या वर्गको कुरा होइन ! यो हाम्रो नैतिकता र समाज सँगको लडाई हो। धन्यवाद ।


 इरफान सिद्दीकीको पोष्ट (विचार) सान्दर्भिक लागेर जस्ताको त्यस्तै प्रकाशित गरिएको छ ।त्यसमा व्यक्त विचार उनका निजी हुन् । सिद्दीकी समय सन्दर्भको आधारमा कलम चलाउँछन् । 

प्रतिक्रिया