जुलाइबाट युरोपमा नेपाली कामदार पठाउने व्यवस्था मिलाइएको छ : श्रममन्त्री

Jasus Khabar 3925+ समाचार ( )
१० आषाढ २०८२

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमलाई नयाँ र प्रभावकारी तवरले अघि बढाउन लागिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि बिनियोजित बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले रोजगारी सृजना गर्ने अभियानलाई नयाँ र प्रभावकारी तवरले कार्य गर्न आन्तरिक रोजगार प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गर्न लागिएको बताए।

उनले मुलुकको मानव संसाधनको विकास गरी दक्ष र सीपयुक्त जनशक्तिलाई नेपालको रोजगारीमा संलग्न गराउन मन्त्रालय प्रयत्‍नशील रहेको जिकिर गरे। नीतिगत सुधारतर्फ श्रम आप्रवासन नीति तर्जुमा भई स्वीकृतिको लागि अन्तिम चरणमा रहेको र सबै स्थानीय तहमा एकीकृत श्रम तथा रोजगार सेवा प्रदान गर्ने गरी कार्यक्रम तर्जूमा गरिएको उनले बताए । मन्त्री भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित,व्यवस्थित र मर्यादित बनाउने क्रममा श्रमिकको मानवाधिकार तथा अन्तर्राष्ट्रिय श्रम संगठनको मूल्य र मान्यतालाई अवलम्बन गरेको धारणा पनि राखे।

उनले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा र सेवा सुविधा सुनिश्चित हुने गरी थप कार्य गरिने प्रतिवद्धता जनाए। यही जुलाई महिनाबाट युरोपमा संस्थागत तवरले श्रमिक पठाउने व्यवस्था मिलाइएको र उच्च मानवअधिकार भएका मुलुकहरूमा श्रमिक पठाउनका लागि तयारी भएको उनले जानकारी दिए।

इरान र इजरायल बीच उत्पन्न संकटमा नेपाली तथा नेपाली श्रमिकमा भएको र हुनसक्ने प्रभावका बारेमा मन्त्रालय सजग र तयारी अवस्थामा रहेको उनले बताए।

प्रतिक्रिया