७ दिनभित्र संसदीय समितिको नेतृत्वमा सहमति नभए निर्वाचनमा जान सुझाव : सभामुख

Jasus Khabar 1+ समाचार ( )
१५ जेठ २०८०

सभामुख देवराज घिमिरेले ७ दिनभित्र संसदीय समितिको नेतृत्वमा सहमति नभए निर्वाचनमा जान सुझाव दिएका छन्।

बैठकमा दलहरूलाई सभामुखले भने, ‘ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ। उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ। सभापति चयन नहुँदा विधेयकहरूको छलफलले गति लिएको छैन। तपाईँहरूले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस्। नभए सात दिनपछि प्रक्रिया (निर्वाचन) बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस्।’

आज बसेको कार्य व्यवस्था परामर्श समितिको आजको बैठकमा सभामुखले संसदीय समितिको नेतृत्वबारे दलहरूको गम्भीर ध्यानाकर्षण गराए। संसदीय समितिहरूको नेतृत्व चयन नहुँदा कामले गति लिन नसकेको बताए।

मंसिर ४ गते प्रतिनिधि सभा निर्वाचनपछि पुस २५ गते पहिलो बैठक बसेको थियो। चैत १९ गते प्रतिनिधि सभा नियमावली २०७९ पारित, वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन, जेठ २ गते प्रतिनिधि सभाका १० वटा विषयगत समितिको पहिलो बैठक बसेको थियो।

जेठ १४ गते संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) पारित, दुई संयुक्त समिति गठनका लागि बाटो खुला, भए पनि संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरूको मात्रै मनोनयन भएको थियो।


प्रतिक्रिया