मुस्लिम विभागको नेतृत्वमा मुस्लिम व्यक्तित्वको माग

Jasus Khabar 3925+ समाचार ( )
१७ आषाढ २०८२

अजमल अन्सारी

सुनसरी । नेपाली कांग्रेस भित्र मुस्लिम विभागको नेतृत्व मुस्लिम समुदायका व्यक्तित्वलाई दिनुपर्ने माग गर्दै मुस्लिम समुदायका अग्रज नेताहरूले ज्ञापनपत्र बुझाएका छन्।


नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति, ललितपुरमा मंगलबार पेश गरिएको उक्त ज्ञापनपत्रमा लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको पक्षमा कांग्रेसले लिएको अग्रणी भूमिकाको सराहना गरिएको छ। तर, मुस्लिम विभागको नेतृत्वमा मुस्लिम समुदायकै व्यक्तित्वलाई जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि प्रकट गरिएको छ।


ज्ञापनपत्रमा लेखिएको छ, “पार्टीका अन्य जातीय, धार्मिक वा समुदायसम्बन्धी विभागहरूमा सम्बन्धित समुदायका व्यक्तिहरूलाई नेतृत्व दिइएको छ। तर मुस्लिम विभागको हकमा मुस्लिम समुदायको सहभागिता नहुनु आत्मविरोधी अभ्यास जस्तो देखिएको छ।”


पार्टीको निर्णयले मुस्लिम समुदायमा असन्तोष बढाएको भन्दै भावनात्मक दूरी तथा संगठन विस्तारमा समेत असर पर्ने चेतावनी ज्ञापनपत्रमार्फत दिइएको छ।


उनीहरूले पार्टी नेतृत्व समक्ष पुनर्विचार गरी विभागको नेतृत्व मुस्लिम समुदायकै उपयुक्त व्यक्तित्वलाई दिनु पर्ने माग गरेका छन्।


ज्ञापनमार्फत पार्टीको समावेशिता र सामूहिक सहभागिताको मूल्यमा दृढ रहन आग्रह गर्दै, यस विषयमा शीघ्र निर्णयात्मक कदम चाल्न आग्रह गरिएको छ।


ज्ञापन बुझाउनेहरूमा डा. अबुल हुसैन अन्सारी, खालिद हुसैन, कसिम अख्तर, तमबीर हुसैन, नौशाद आलम, कमरेज खान, रागिब आलम, मोहम्मद शमशाद, सद्दाम हुसैन, मोहम्मद मूना, नाजिम निजाम, एजाजूर रहमान, मिर्जा दिलशाद र मोहम्मद कमाल जमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार