- भारतले टस हारेर २० ओभरमा १६८ रन बनाउँदै बंगलादेशलाई ४१ रनले पराजित गर्यो।
- भारतका बलर कुलदीप यादवले ३ विकेट लिए र जसप्रित बुमराह तथा वरुण चक्रवर्तीले २–२ विकेट लिए।
- बंगलादेश १२७ रनमै अलआउट भएसँगै भारत एसिया कपको फाइनलमा दोस्रोपटक पुग्यो।
>
भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बुधबार बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो। टी–२० ढाँचामा तेस्रोपटक आयोजना भइरहेको एसिया कपमा भारत दोस्रो पटक फाइनलमा पुगेको हो।>
भारतले बंगलादेशलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा १७औँ पटक हराएको हो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल बनायो। उसका लागि ओपनर अभिषेक शर्माले ३७ बलमा ६ चौका र ५ छक्कासहित ७५ रनको उत्कृष्ट पारी खेले। अर्का ओपनर शुभमन गिलले २९ रन जोडे। यी दुईबीच पहिलो विकेटका लागि ७७ रनको साझेदारी भएको थियो। थप योगदानका रूपमा हार्दिक पाण्ड्याले ३८ रन बनाए भने अक्षर पटेल १० रनमा अविजित रहे।>
१६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा अलआउट हुँदै १२७ रनमै समेटियो। उसका लागि ओपनर साइफ हसनले ६९ रनको पारी खेले। हसन बाहेक केवल प्रभिन होसेन इमोनले २१ रन बनाउन सके।>
बंगलादेशको इनिङलाई सस्तोमा रोक्ने क्रममा भारतका बलरहरू चम्किए। कुलदीप यादवले ३ विकेट लिए भने जसप्रित बुमराह र वरुण चक्रवर्तीले २–२ विकेट हात पारे। त्यस्तै, अक्षर पटेल र तिलक वर्माले समान १–१ विकेट लिए।>>>