अजमल अन्सारी>
सुनसरी । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जिल्ला अस्पताल सुनसरीलाई एक सेट एनेस्थेसिया मेसिन, एक सेट डेन्टल चेयर र आवश्यक कम्प्रेसर प्रदान गरिएको छ।>
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र जिल्ला अस्पताल सुनसरीका अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजन मेहताको पहलमा उक्त उपकरण उपलब्ध गराइएको हो।>
>
अस्पताल प्रशासनका अनुसार उपकरण प्राप्त भएपछि जिल्लावासीलाई स्वास्थ्य सेवा प्रवाहमा थप सहजता र गुणस्तर आउने अपेक्षा गरिएको छ।>
>
उपकरण हस्तान्तरण कार्यक्रममा मन्त्री पौडेलले सरकार जनताको आधारभूत स्वास्थ्य सेवा पहुँच अभिवृद्धिमा प्रतिबद्ध रहेको उल्लेख गर्दै जिल्लास्तरीय अस्पतालहरूलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन मन्त्रालय सधैं तयार रहेको बताए।>
>
अध्यक्ष राजन मेहताले उपकरण प्राप्तिसँगै अस्पतालको सेवा स्तरीय बनाउनेतर्फ थप प्रेरणा मिलेको बताए। उनले आगामी दिनमा समेत मन्त्रालयको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे।>
>
जिल्ला अस्पताल सुनसरीले स्वास्थ्य मन्त्रालय र सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत आवश्यक समन्वय र समर्थनको अपेक्षा गरेको छ।>
>
>