रेडियो सिन्धु ‘१०५ मेगाहर्ज’ लाई थापाको सहयोग

Jasus Khabar 3925+ समाचार ( )
२७ आषाढ २०८२

असार २४ गते रातिको चट्याङका कारण पूर्णरूपमा बन्द भएको सामुदायिक रेडियो रेडियो सिन्धु ‘१०५ मेगाहर्ज’को प्रसारण सुचारु गर्नका लागि थापा इन्टरप्राइजेज ग्रुपका प्रोप्राइटर भूपेन्द्र थापाले आर्थिक सहयोग गरेका छन् । सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट सञ्चालित यसका लागि थापाले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । समाजसेवी थापा नेपाल भूतपूर्व सैनिक संघका कोषाध्यक्ष पनि हुन् ।

२२ गतेको चट्याङले केही क्षति भई प्रसारण रोकिएको रेडियो सिन्धु २४ गतेको चट्याङबाट पुनः स्टुडियो सहितको सम्पूर्ण उपकरण जलेर नष्ट भएपछि रेडियो प्रसारण बन्द भएको थियो । यसअघि यसको प्रसारण सुचारु गर्नका लागि भन्दै अन्य सहयोगीले पनि सहायता दिएका थिए । गैर सरकारी संस्था महासंघ नेपालका उपाध्यक्ष राजेन्द्र शर्मा, नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सिन्धुपाल्चोकद्वारा जारी गरिएको विज्ञप्तिअनुसार रेडियो सिन्धुको ट्रान्समिटर, कम्प्युटर, टेलिभिजन सेट, सेटटप बक्स, मिक्सर, वायरिङ, टावर लगायतका सम्पूर्ण सामग्री नष्ट भएका छन् ।

चट्याङका कारण रेडियोको करिब २५ लाखबराबरको सामग्री क्षति भएको नेपाल पत्रकार महासंघका जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले बताए ।

रेडियो बन्द हुँदा जनताको सूचना, समाचार र मनोरञ्जनमा पहुँच बन्द भएको भन्दै महासंघले रेडियो पुनः सञ्चालनका लागि तत्काल उपाय आवश्यक भएको छ । साथै, सामुदायिक सञ्चारमाध्यमको निरन्तरताका लागि संघ, प्रदेश र स्थानीय सरकार, सरोकारवाला निकाय तथा सहयोगी संस्थालाई सक्दो सहयोग गर्न रेडियो र महासंघले आग्रह गरेको छ ।

पत्रकार महासंघ शाखाका अध्यक्ष दंगालले रेडियोको पुनः सञ्चालनका लागि आन्तरिक तथा बाह्य स्रोत परिचालनका साथै सम्बन्धित निकायसँग समन्वय गरिने बताएका छन् । स्थानीय सरकार, संघसंस्था, दातृ निकाय र सञ्चार क्षेत्रका सबै शुभेच्छुकलाई रेडियोको पुनः सञ्चालनमा हातेमालो गर्न अपिल गरिएको छ ।

प्रतिक्रिया