नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ को औपचारिक उद्घाटन गरेका छन्।>
कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गरे।>
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे।>
उनले भने, “सर्वसम्मत रूपमा केन्द्रीय समिति गठन भइसकेपछिको पहिलो पदाधिकारी बैठकमा, उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाइसिएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन मैले दिएको थिएँ। त्यसै अनुसार देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो। यसका लागि म वाइसिएललाई धन्यवाद दिन चाहन्छु।”>
सम्बोधनका क्रममा प्रचण्डले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरे। संसदमा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको उल्लेख गर्दै उनले भने, “यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ।”>
कार्यक्रममा माओवादी केन्द्रकायुवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने वाइसिएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको जानकारी दिएको छ। सो क्रममा अध्यक्ष प्रचण्डले युवालाई उत्पादन, समृद्धि र स्वाभिमानी अर्थतन्त्र निर्माणको अग्रपंक्तिमा उभिन आग्रह गरे।>>