अजमल अन्सारी>
सुनसरी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निर्मल थापाको कुशल नेतृत्वमा जिल्लामा सीमा सुरक्षा, तस्करी नियन्त्रण, तथा आपराधिक गतिविधिहरूमा नियन्त्रण र जनसुरक्षामा उल्लेखनीय सुधार आएको छ।>
प्रहरी उपरीक्षक थापाले कार्यभार सम्हालेदेखि नै संगठनात्मक सुदृढीकरणसँगै समुदायसँगको समन्वयलाई प्राथमिकतामा राख्दै आएका छन्। यसै सन्दर्भमा सशस्त्र प्रहरी बलले जिल्लाभरका २३ भन्दा बढी स्थानमा निगरानी चौकीहरू स्थापना गरी सीमावर्ती गतिविधिमाथि निगरानी बढाएको छ।>
>
एसपी थापाले सशस्त्र प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउँदै स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय अभिवृद्धि गर्न पहल गरेका छन्। सीमावर्ती क्षेत्रहरूमा सुरक्षा निगरानी कडा पारिएको छ भने अवैध क्रियाकलापहरू नियन्त्रणमा ल्याउन विभिन्न रणनीतिहरू अपनाइएको छ।>
>
“हामीको मुख्य उद्देश्य भनेको सीमा सुरक्षालाई मजबुत पार्नु, अवैध कारोबार नियन्त्रण गर्नु र जनतालाई सुरक्षित वातावरण उपलब्ध गराउनु हो,” एसपी थापाले भन्नुभयो, “समुदायको विश्वास जित्न हामी दिनरात खटिरहेका छौं।”>
>
जनमैत्री अभियान र सहकार्य> एसपी थापाको नेतृत्वमा सशस्त्र प्रहरी बलले विद्यालयस्तरीय अनुशासन तथा आत्मरक्षा तालिम, मानव बेचबिखनविरुद्ध जनचेतनामूलक कार्यक्रम, महिला तथा बालबालिकाको सुरक्षामा केन्द्रित संवाद कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।>
>
स्थानीय वडाध्यक्षहरू, विद्यालय प्रमुखहरू र समुदायका अगुवाहरूले एसपी थापाको कार्यशैलीलाई खुलेर प्रशंसा गरेका छन्। हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी भन्छन्, “एसपी थापाको नेतृत्वमा आएको परिवर्तन हामीले प्रत्यक्ष महसुस गरेका छौं। सुरक्षाकर्मी र जनताको सम्बन्ध पहिलेभन्दा धेरै राम्रो भएको छ।”>
>
विपद् व्यवस्थापनमा प्रभावकारी उपस्थिति> हालैका प्राकृतिक विपद्—जस्तै बाढी, डुबान र आगलागीका घटनामा समेत सशस्त्र प्रहरी बलको सक्रियता प्रशंसनीय रहँदै आएको छ। उद्धार, राहत वितरण र व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका स्थानीय तहका लागि टेवा पुगेको छ।>
>
आगामी योजनाहरू> सशस्त्र प्रहरी बल सुनसरीले आगामी दिनमा डिजिटल निगरानी प्रणाली सुदृढीकरण, तालिम केन्द्रहरूको स्तरोन्नति तथा महिला सशक्तिकरणमा केन्द्रित कार्यक्रमहरू ल्याउने तयारी गरिरहेको एसपी थापाले जानकारी दिए।>
>
एसपी थापाको नेतृत्वमा सशस्त्र प्रहरी बलले शान्ति, सुरक्षा र सामाजिक सद्भावलाई मजबुत बनाउँदै जिल्लामा कानुनी शासनको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलिरहेको स्थानीय विश्लेषकहरूको निष्कर्ष छ।>
>