पाकिस्तानमा बाढीपहिरोको प्रकोपः ३२० जनाको मृत्यु, हजारौँ प्रभावित

Jasus Khabar 3945+ समाचार ( )
१ भाद्र २०८२

पाकिस्तानमा लगातारको भारी मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा ३२० जनाको ज्यान गएको छ। सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ १८० जनाको मृत्यु भएको छ।

पाकिस्तानको कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको छ।

बाढी र पहिरोका कारण महिलासहित धेरै बालबालिकाहरूको मृत्यु भएको छ। उद्धार कार्यका क्रममा मौसम खराबीका कारण प्रान्तीय सरकारको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन्।

सरकारले बुनर, बजौर, मानसेहरा र बट्टाग्राम जिल्ला ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ। स्थानीय बासिन्दाहरूले घटनालाई ‘प्रलय’ र ‘प्रलयको दिन’ सरह भयावह भएको बताएका छन्।

पाकिस्तानको मौसम विभागले आगामी दिनमा झनै भारी वर्षा हुने चेतावनी दिँदै जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ। रासस/एएफपी

प्रतिक्रिया