लागुऔषधसहित विभिन्न स्थानबाट आठजना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
१९ वैशाख २०८२

 प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ। लागुऔषधसहित तनहुँबाट दुईजना,मोरङबाट एकजना,बर्दियाबाट दुईजना र कैलालीबाट तीनजनालाई पक्राउ गरेको हो।

तनहुँ,आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र ब्रुप्रेनोर्फिन ५० एम्पुलसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा म्याग्दीका २० वर्षीय सुजल छन्त्याल र २० वर्षीय मिस्सल पुन रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी मोरङबाट सुन्दरहरैंचा नगरपालिका-८ बस्ने २९ वर्षीय विकेश भट्टराई लागुऔषधसहित पक्राउ परेका छन्। उनलाई मोरङ विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागुऔषध १ ग्राम ६ सय ४० मिलिग्रामसहित पक्राउ गरिएको हो। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बर्दियाबाट कास्की पोखरा महानगरपालिका-२८ माझ्ठाना बस्ने २८ वर्षीय महेश तिवारी र तनहुँ ब्यास नगरपालिका-६ दमौली बस्ने ३० वर्षीय बिपिन अधिकारी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

कैलाली,धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ९० मिलिग्रामसहित २३ वर्षीय सुवास शाही,१८ वर्षीया किशोरी र जानकी गाउँपालिका-४ बस्ने २६ वर्षीय तिला राम कठरिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया