>
अजमल अन्सारी>
सुनसरी । सुनसरी जिल्लाको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका जवानहरू अझै पनि पुराना अस्थायी छाप्रोमा जोखिम मोलेर ड्युटी गरिरहेका छन्। नेपाल–भारत सीमामा सुरक्षालाई बलियो बनाउने उद्देश्यले कोरोना महामारीको समयमा निर्माण गरिएका फुस र टिनले बनेका अस्थायी टहरोमा अहिले पनि निरन्तर ड्युटी भइरहेको छ।>
कोरोना महामारी सुरु भएको बेला आकस्मिक रूपमा बनाइएका यी अस्थायी टहरोहरू अहिले जीर्ण अवस्थामा पुगेका छन्। वर्षायाममा पानी चुहिने, हावा छिर्ने र ड्युटीमा रहेका सुरक्षाकर्मीलाई रातभर सुत्न र विश्राम गर्न कठिनाइ हुने समस्या बढ्दै गएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।>
>
प्रत्येक २ देखि ३ किलोमिटरको दूरीमा सीमामा बनाइएका यस्ता कच्ची टहराहरूले अब सशस्त्र प्रहरीको सुरक्षामा चुनौती थपेको छ। “पानी पर्दा छाप्रोभित्रै पानी पसेर ओसिलो हुन्छ, हावाले टहरा उडाउने खतरा पनि हुन्छ, पोस्टमा त कुनै बत्ती र शौचालयको समेत व्यवस्था छैन,” एक सुरक्षाकर्मीले भने, “रातभर ड्युटी गर्दा झन् बढी समस्या हुन्छ।”>
>
सशस्त्र प्रहरी बलका अनुसार अहिले सीमामा करिब एक दर्जनभन्दा बढी यस्ता अस्थायी पोस्ट रहेका छन्। यी टहराहरूलाई कम्तीमा २–३ फिट माटो भराइ गरी फलामको खम्बा र माथिबाट बलियो टिनको छाना हालेर व्यवस्थित बनाउनुपर्ने खाँचो देखिएको छ।>
>
स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूले पनि सीमामा खटिएका सुरक्षाकर्मीको जोखिमपूर्ण अवस्थाबारे ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्। सशस्त्र प्रहरी बल सुनसरीले समेत बैठकमा र सम्बन्धित ठाँउमा यस्ता टहरा सुधारको बारेमा कुराहरु राखेको बताइएको छ।>
>
“सिमाना जोगाउने सुरक्षाकर्मी सुरक्षित भए मात्र जनताको पनि सुरक्षा हुन्छ। अस्थायी टहरालाई बलियो संरचनामा परिणत गर्न ढिलाइ गर्नु हुँदैन,” जनप्रतिनिधिहरु भन्छन् ।>
>
सुनसरी सीमा क्षेत्रमा करिब ६२.९ किलोमिटर सिमाना रहेको छ। सशस्त्र प्रहरी बलको नियमित गस्ती, निगरानी र नियन्त्रण कार्यमा अहिले पनि यी अस्थायी पोस्टकै भर पर्नु परेको अवस्था छ। सरकार र सम्बन्धित निकायको ध्यान त्यतातर्फ पुगेर सुरक्षाकर्मीलाई सुरक्षित ड्युटी गर्ने वातावरण बन्ने जनअपेक्षा बढेको छ।>
>
>>