हिंत्सात्मक प्रदर्शनमा सहभागी कार्यकर्तालाई पार्टी छाड्न रास्वपाको निर्देशन

Jasus Khabar 3925+ समाचार ( )
२ अशोज २०८२

उनले कारागारभित्र रहेका सभापति रवि लामिछानेलाई समेत नैतिक संकट पार्ने गरी अप्ठ्यारो परिस्थितिको आडमा उग्र प्रदर्शन वा गतिविधिमा संलग्नलाई बिना शर्त अनुसन्धानको दायरामा ल्याइनुपर्ने बताए।

 राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ २४ गते भएको हिंत्सात्मक प्रदर्शनमा सहभागी कार्यकर्तालाई पार्टी छाड्न आग्रह गरेको छ। रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले बुधबार राति सामाजिक सञ्जालमार्फत् अराजकतालाई प्रश्रय दिने कार्यमा संलग्न सम्बन्धित सबैलाई पार्टीसँगको आबद्धता छाड्न र अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेका हुन्।

उनले कारागारभित्र रहेका सभापति रवि लामिछानेलाई समेत नैतिक संकट पार्ने गरी अप्ठ्यारो परिस्थितिको आडमा उग्र प्रदर्शन वा गतिविधिमा संलग्नता देखिनेलाई बिना शर्त अनुसन्धानको दायरामा ल्याइनुपर्ने बताए।

‘सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूबाट राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रदेखि विभिन्न तहमा रहेका नेतृत्वले उग्रता प्रदर्शन गरेको देखिए यस्तो कुराको अपनत्व पार्टीले लिन सक्दैन। रास्वपाजस्तो शान्ति र अहिंसात्मक राजनीतिलाई मूल मर्म बनाएको पार्टीले नेतृत्व वा समर्थकले गरेका  कुनै पनि उग्रताको समर्थन गर्नसक्ने ठाउँ रहन्न।’ उनले भने, ‘महिनौं भैरहवाको एउटा अँध्यारो कोठामा राखेर अड्डासार गरी नख्खु कारागारको एउटा कुनामा राखिएका र सूचनाको स्वाभाविक स्रोतबाट टाढा रहेका पार्टी सभापति रवि लामिछानेलाई  कारागारको गेट नजिक नआउँदासम्म वस्तुस्थितिको प्रत्यक्ष मूल्याङ्कन गर्न सक्ने सुविधा थिएन। कारागारभित्र रहेका सभापतिलाई समेत नैतिक संकट पार्ने गरी  अप्ठ्यारो परिस्थितिको आडमा भएका यस किसिमका उग्र प्रदर्शन वा गतिविधिमा पार्टी सदस्यहरूको कुनै किसिमको संलग्नता भएको देखिए बिना शर्त अनुसन्धानको दायरामा ल्याइनुपर्छ।’

सहमहामन्त्री आचार्यले नख्खु कारागारबाट लामिछाने बाहिर निस्किएपछि कारागार परिसरमा भएको आगजनी तथा तोडफोडमा रास्वपाका जुनसुकै तहका नेताहरू संलग्न रहेको पाइएमा सरकारले कानुनअनुसार कारबाही गर्दा पार्टीको सहयोग रहने बताए।

अहिंसा र आधारभूत लोकतान्त्रिक मूल्यप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सदैव प्रतिबद्ध रहेको उनको भनाई छ। अहिंसाको जगमा मतपत्रबाट शक्ति आर्जन गरेको दल रास्वपा भएको बताउँदै उनले अराजक, उग्र र अवाञ्छित गतिविधि स्वीकार नगर्ने बताए। ‘नेपाली राजनीतिमा आज अस्तित्वमा रहेका पार्टीहरूमध्ये अहिंसाको जगमा मतपत्रबाट शक्ति आर्जन गरेको दलमा पर्छ रास्वपा। रास्वपाले पार्टीभित्रका वा पार्टीबाहिरका, उच्च तहको वा तल्लो तहको कुनै पनि अराजक, उग्र र अवाञ्छित गतिविधि स्वीकार गर्दैन।’ उनले भने, ‘देशभरका घटनाको सरकारले गर्ने जुनसुकै प्रकारको निष्पक्ष, पारदर्शी र विश्वसनीय अनुसन्धानमा पार्टीकोको सहयोग रहनेछ। तर  पुराना राजनीतिक पार्टीहरूले हदैसम्मको राजनीतिक प्रतिशोध साँधेको र राज्यका सबै निकायहरूलाई उनीहरूको अनुकूल प्रयोग गरेको अनुभूति गरेका हामी यस प्रकरणमा  चाहिँ ‌त्यस्तो नहोस् भन्ने  तर्फ सचेत गराउन चाहन्छौँ।’

प्रतिक्रिया