हाल देशभर लगातारको वर्षासँगै बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्का घटनाहरू तीव्र रूपमा बढिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज एक विज्ञप्ति जारी गर्दै विपद् पूर्वतयारी र राहत-उद्धारमा तत्काल सक्रियता देखाउन आग्रह गरेको छ।>
>
पार्टीका कार्यबाहक सभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद् पूर्वतयारी र पश्चात्कालीन प्रतिक्रिया सम्बन्धी दुई चरणको रणनीति उल्लेख गरिएको छ।>
विज्ञप्तिअनुसार, मौसम विज्ञान विभागले यो वर्ष मनसुन औसतभन्दा बढी सक्रिय हुने पूर्वानुमान गरेकाले सम्भावित जोखिम न्यूनीकरण, उद्धार, राहत तथा पुनःस्थापनाको कार्यमा प्रभावकारी सहकार्य आवश्यक भएको उल्लेख गरिएको छ।>
जोखिमयुक्त वस्ती, खोला किनार र पहिरो सम्भावित क्षेत्रहरूको पहिचान गरी सूचीकृत गर्न, स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित संयन्त्रसँग समन्वय गरी तदनुसारको तयारी गर्न, आवश्यक परेमा त्रिपाल, ढोका, प्राथमिक औषधि लगायत राहत सामग्रीको व्यवस्था मिलाउन तथा ‘स्वयंसेवक समूह’ तयार राख्न र सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सन्देश प्रवाह गर्न रास्वपाले सुझाएको छ।>
विपद् पश्चात्कालीन प्रतिक्रियाका लागि घटनास्थलमा सहज राहत व्यवस्थापनका लागि तत्काल समन्वय र अनुगमन गर्न, पीडित स्थानमा तत्काल प्राथमिक उपचार र सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न, स्थानीय तह, सरोकार निकायसँग समन्वय गरी पुनःस्थापनाका कार्य अघि बढाउन, प्रभावित क्षेत्रमा पार्टीका कार्यकर्ताहरूलाई सक्रिय रूपमा परिचालन गर्न रास्वपाले आग्रह गरेको छ। >
विज्ञप्तिमा पार्टीका सबै तह, विभाग, जनवर्गीय संगठन र सदस्यहरूलाई मानवीय सेवाभावका साथ विपद् व्यवस्थापनमा जुट्न आग्रह गरिएको छ। साथै, पार्टी केन्द्रले पनि आवश्यक समन्वयका लागि स्थायी सम्पर्कमा रहने जनाएको छ।>
>>>