- प्रशासनको कडा उर्दीपछि स्थानीय युवाहरूको सहयोगमा लुटपाट गरिएको चामल र चिनी क्रमशः फिर्ता हुन थालेको छ।
- गोदामबाट लुटिएका ७१ क्वीन्टल चामल र करिब १८ क्वीन्टल चिनी आइतबार फिर्ता भएको सूचना अधिकारीले बताए।
- लुटपाटको क्रममा कार र मोटरसाइकलमा आगजनी हुनुका साथै ल्यापटप र ग्यास सिलिण्डर लुटिएका थिए।
>
सिरहा- यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ ।>
जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो । इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटको घटनाले राष्ट्रियस्तरमै लहानको बेइज्जत गराएको भन्दै कार्यालयले कडा निर्देशन जारी गरेपछि फिर्ता हुन थालेको हो ।>
ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्>>>
>
उनले भने, “हामीले उर्दी जारी गरेका थियौँ फिर्ता गर्नका लागि । फिर्ता नगर्नेलाई सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा उपलब्ध फोटो भिडियोका आधारमा पहिचान गरी कानुनी कारबाही गरिनेछ भनेर ।”>
उनका अनुसार स्थानीय युवाहरूको सक्रियतामा चामल र चिनी क्रमशः फिर्ता हुन थालेको हो । केही व्यक्तिहरूले स्वयं आएर र केहीले स्थानीय युवाको माध्यमबाट आइतबार चामल र चिनी फिर्ता गरेका हुन् ।>
खाद्य कम्पनी लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार, आइतबार बेलुका ९ बजेसम्म ७१ क्वीन्टल चामल र करिब १८ क्वीन्टल चिनी फिर्ता भएको छ । “फिर्ता गर्नेको प्रतिष्ठालाई ध्यानमा राखेर नाम भने गोप्य राखिएको छ”, महतोले भने ।>
विवरणअनुसार, चार वटा गोदाममा भण्डारण गरिएको आठ हजार १४८ क्वीन्टल चामल, तीन हजार २२० क्वीन्टल चिनी, ५३ क्वीन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा लुटिएका थिए । उनका अनुसार यसको अनुमानित मूल्य रु १० करोड ९१ लाख २२ हजार ८२७ बराबर रहेको छ ।>
खाद्यान्नलाई सुरक्षित राख्न प्रयोग गरिने विशेष प्रकारका ‘फ्युमिगेसन सिट’ लुटिएको छ । महतोका अनुसार, ती सिटहरू अत्यन्तै भारी हुने र उठाउन कम्तीमा १० जनाको आवश्यकता पर्दछ । यस्तो सिट खाद्य कम्पनीसँग मात्रै रहेको जनाइएको छ ।>
लुटपाटको क्रममा कार्यालय परिसरमा राखिएकोे कार र मोटरसाइकलमा आगजनी गरिएको छ । खाद्यकर्मीको ‘क्वार्टर’ बाट ल्यापटप, खाना पकाउने दुई थान ग्यास सिलिण्डर तथा मोबाइलसमेत लुटिएको छ ।>
यसअघि विसं २०६३ को मधेस आन्दोलनसहित अन्य विभिन्न आन्दोलनका क्रममा गरी हालसम्म तीन पटक लहानको खाद्य कम्पनीमा लुटपाट भइसकेको छ । यसले गर्दा आगामी दिनमा सामान्य आन्दोलनको बेलामा पुनःलुटपाटको जोखिम उच्च रहेको स्थानीय बताउँछन् ।>>>
>>
>>