बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै

Jasus Khabar 3945+ समाचार ( )
६ अशोज २०८२

 प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ । बडा दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । 

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ ।  यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्। कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्। कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।

घटस्थापनाको साइत ९:१३ बजे

आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । 

आज घटस्थापनाको साइत बिहान ९:१३ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले  राससलाई जानकारी दिए । 

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

नौ दिन नौ दुर्गाको पूजा
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ । 
 
असोज १६ गते देवी विसर्जनको साइत बिहान ९ : २३ बजे रहेको समितिले जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ : ५३ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । 

प्रतिक्रिया