पर्यटकीय क्षेत्रको विस्तारमा सामूहिक श्रमदान

Jasus Khabar 3925+ समाचार ( )
२५ श्रावण २०८२

 नुवाकोटको पूर्वी भेगमा रहेको पञ्चकन्याको प्रसिद्ध घ्याङस्वाराको विकासमा सामूहिक श्रमदान गरिएको छ । सामूहिक श्रमदानमा एकैदिन तीन सयभन्दा बढीको सहभागता रहेको थियो । 

‘कोही भन्दा छैन कम, पालिकालाई एक दिन श्रम’ भन्ने मूल नाराका साथ पञ्चकन्या गापा–४ स्थित घ्याङस्वारा पर्यटकीय पार्क तथा खेलकुद मैदानमा शुक्रबार एक दिन सामूहिक श्रमदान गरिएको हो । पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रद्वारा ‘शिक्षा, पर्यटन, पूर्वाधार, कृषि  क्षेत्रमा लगाऔं सीप र ज्ञान–समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान’ का साथ आयोजित एक दिने सामूहिक श्रमदानमा तीन सयजनाको सहभागिता रहेको थियो । 

सामूहिक श्रमदानमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो । सामूहिक जनश्रमदानबाटै विकास र परिवर्तन हुने भएका कारण पञ्चकन्या गापाको यसको अभियान सञ्चालन गरिएको गापा अध्यक्ष तेजबहादुर तामाङ रमेशले बताए । 

यसलाई स्थानीय विकास, पर्यटन, स्वरोजगार तथा परिवर्तनका लागि निरन्तरता दिइने उनले बताए । सामूहिक जनश्रमदान कार्यक्रमले सबैमा सामूहिक एकता तथा अपनत्वको भावना र श्रमप्रतिको सम्मानलाई बलियो बनाएको गापाले जनाएको छ । कार्यक्रमका सहभागीहरूले चिया गोडमेल, सरसफाइ, बाटोको मर्मतसमेत गरिएको थियो । यसले आपसी सहकार्य, सद्भाव र भाइचाराको वातावरणलाई अझ सुदृढ बनाएको गापा उपाध्यक्ष विमला पाठक केसीको भनाइ छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार