लागुपदार्थ दुर्व्यसनी न्युनीकरण गर्न नेपाल स्काउटको भुमिका महत्वपूर्णः उपराष्ट्रपति यादव

Jasus Khabar 3925+ समाचार ( )
५ आषाढ २०८२

 उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले लागुपदार्थ दुर्व्यसनीको चपेटामा परेका युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गराउन स्काउटका युवा युवतीहरुलाई परिचालन गर्नु राम्रो पक्ष भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा आइपर्ने विपद् व्यवस्थापन तथा उद्धार कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु संस्थाले अंगीकार गरेको महान उद्देश्य र लक्ष्यअनुरुपकै कदम भएको जिकिर गरे । सबै क्षेत्र भूगोल, वर्ग र समाजको प्रतिनिधित्व गर्दै अघि बढ्न नेपाल स्काउट आफूलाई थप परिमार्जित, परिष्कृत, उन्नत, व्यवस्थित र समावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्न जरुरी रहेको बताए ।

देशमा दक्ष विपद् व्यवस्थापन टोली गठन गरी विपद् उद्धारमा परिचालन गर्नुले यस सिद्धान्तको केही हदसम्म कार्यान्वयन भएको पुष्टि भएको बताए । पछिल्लो समय मुलुकमा बढ्दो लागुपदार्थ दुव्र्यसनि विरुद्धको अभियानमा पनि स्काउट सक्रिय हुनु अर्को सकारात्मक पक्ष भएको बताए । महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना, महिला उद्यमशिलता, महिला नेतृत्व विकाससँग सम्बन्धित कार्यहरुलाई पनि आफ्नो प्राथमिकतामा राखि अघि बढ्नुले नेपाल स्काउटको गरिमा र सम्मानलाई उच्च बनाएको बताए ।

प्रतिक्रिया