जापानमा भालुको आक्रमण बढेपछि सरकारले सिकारीलाई सम्भावित क्षेत्रमा राइफल र बन्दुक प्रयोग गर्न सजिलो हुने गरी हतियारसम्बन्धी नियम सहज बनाएको छ।>
घट्दो मानव जनसंख्या र जलवायु परिवर्तनजस्ता कारणले भालुको वासस्थानमा परेको प्रभावका कारण जापानको आवासीय क्षेत्रमा धेरै जंगली भालु देखिएको छ।>
यो वर्षको अप्रिलदेखि जापानमा भालुको आक्रमणबाट चार जनाको मृत्यु भएको र अगस्टमा होक्काइदोमा दर्जनौं घाइते भएको जनाइएको छ।>
उत्तरी सहर किताकितामा रहेको अपांगता संरक्षण केन्द्रमा जुलाईमा भालुले आक्रमण गरेपछि एक जना महिलालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो। जुनमा एउटा भालु क्षेत्रीय विमानस्थलको धावनमार्गमा घुम्दै गरेको देखिएको थियो।>
कडा हतियार नियन्त्रण प्रणाली अवलम्बन गरेको जापानले भालुको आक्रमण आत्मरक्षाका लागि सिकारीलाई राइफल र बन्दुकको प्रयोगलाई प्रहरीको स्वीकृतिपछि अनुमति दिएको छ।>
सोमबारदेखि अधिकारीले बासिन्दाको सुरक्षा सुनिश्चितासँगै आपतकालीन अवस्थामा सिकारीलाई राइफल प्रयोग गर्ने अधिकार दिन सक्ने जनाइएको छ।>
सन् २०२५ मार्चसम्म जापानमा ८५ जना मानिसलाई भालुले आक्रमण गरेको थियो, जसमध्ये तीन जनाको मृत्यु भएको थियो।>
उक्त अवधिमा पाँच हजार १३६ भालु मारिएको थियो। मारिएको भालुको संख्या अघिल्लो वर्षको सोही अवधिमा नौ हजार रहेको थियो।>
ग्रामीण जनसंख्याको ह्रास र मौसम परिवर्तनले भालुको खाना र बसोबासलाई असर गर्दा धेरै जनावर सहर नजिक जान बाध्य भएको विज्ञले जनाएका छन्।>
जापानको घट्दो जनसंख्याका कारण बाँझो जग्गामा भएको वृद्धिले पनि जंगली क्षेत्र बढिरहेको जनाइएको छ।>
अधिकांश वृद्ध जनसंख्याको अवस्थाले सिकारीको संख्यामा कमी आएको र भालुको जनसंख्यामा वृद्धि भएका कारण आक्रमण बढेको जनाइएको छ।>
पछिल्लो समयमा टोकियो क्षेत्रमा पनि धेरै भालु देखिएको रिपोर्ट गरिएको छ।>
गत महिना, सहरी क्षेत्रमा रहेको नदीमा माछा मार्दा एक जना व्यक्तिलाई भालुले आक्रमण गरेको बताइएको छ।>
>
सरकारी सञ्चार माध्यम एनएचकेका अनुसार यो वर्ष जापानमा प्राथमिक, माध्यमिक वा उच्च विद्यालयभित्र वा नजिकै कम्तीमा ३९ वटा भालु देखिएको छ। एएफपी>>