१७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्दैछन्ः प्रचण्ड

Jasus Khabar 3925+ समाचार ( )
१८ श्रावण २०८२

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अझै पनि माओवादीको बद्नाम गर्नका लागि १७ हजार भन्ने गरेको उनको भनाइ छ । आफूहरुले शहीदका सपना पूरा गर्नका लागि जुन स्तरबाट काम गर्नुपर्ने थियो त्यो हुन नसकेको महशुस गरेर अहिले शहीद, बेपत्ता परिवारका र आफ्नै वर्गमा फर्किएर काम शुरु गरेको बताए । शहीदहरुको सम्मान गर्न आफूहरुबाट कमजोरी भएको महशुस भएको पनि बताए । प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध शहीदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेको उल्लेख गरे। नेपालमा फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने बताए ।

अध्यक्ष दाहालले भने,’हामीलाई अहिले पनि बद्नाम गर्ने कसरत गरिरहेका छन् । १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ । हामीले हालै महान शहीदलाई जुन स्तरबाट सम्मान गर्नुपर्दथ्यो त्यसमा केही त्रुटी गर्यौँ, हाम्रा शहीद परिवारका दुःख, पीर, मर्का जति नजिकबाट हुर्नपर्ने थियो, त्यसमा र हाम्रा वर्ग समुदाय जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्यौँ भन्ने समीक्षा गरिएको छ । त्यही निष्कर्षको आधारमा अहिले हामी फेरि एक पटक हाम्रो वर्गतिर नै जोडिने, शहीद बेपत्ता परिवारहरुसँग नै जोडिने र विचार र मुद्दातिर नै जोडिने संकल्पसहित अघि बढिरहेका छौँ । पार्टी बैठकहरुमा फेरि पनि प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध महान शहीदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेका छौँ । फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दैछौँ ।’

अध्यक्ष दाहालले पार्टी विभाजन गर्नका लागि अनेक षड्यन्त्र गर्ने काम भइरहेको पनि बताए ।

प्रतिक्रिया