>
अजमल अन्सारी>
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा दरबन्दी भई कार्यरत प्रहरी निरीक्षक सबिना लिम्बुलाई बिदाइ तथा धन्यवादसहितको शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ।>
सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको प्रमुख आतिथ्य, सिनियर प्रहरी अधिकृतहरु र सम्पूर्ण प्रहरी कर्मचारीको उपस्थितिमा औपचारिक बिदाइ कार्यक्रम सम्पन्न गरिएको हो।>
>
कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना ज्यूले भन्नुभयो ,"सबिना लिम्बु एक कर्तव्यनिष्ठ, इमान्दार र जिम्मेवार अधिकृत हुनुहुन्छ। आफ्नो छोटो कार्यकालमै उहाँले सुनसरी जिल्लाको अपराध नियन्त्रण र जनताको विश्वास जित्न सफल काम गर्नुभयो। आगामी कार्यक्षेत्रमा अझ राम्रो सफलता मिलोस् भन्ने हाम्रो शुभकामना छ।">
>
कार्यक्रमको अन्त्यतिर प्रहरी उपरीक्षक तिम्सिनाले लिम्बुलाई आगामी जिम्मेवारी सफल रहोस् भन्ने शुभकामना दिँदै मायाको चिनो समेत प्रदान गर्नुभएको थियो।>
>
त्यसैगरी बिदाइ कार्यक्रमको अवसरमा प्रहरी निरीक्षक सबिना लिम्बुले भावुक हुँदै भनिन् ,"सुनसरी प्रहरी परिवारसँग बिताएको समय मेरो लागि अत्यन्त स्मरणीय रह्यो। यहाँका सिनियर अधिकृत, सहकर्मी र जनसमुदायबाट पाएको माया, सहयोग र विश्वास कहिल्यै बिर्सन सक्दिन। नयाँ कार्यक्षेत्रमा पनि जिम्मेवारीलाई निरन्तर इमान्दारिता र कर्तव्यनिष्ठाका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।">
>
निरीक्षक लिम्बुले आफ्नो कार्यकालभर सुनसरी जिल्लामा विभिन्न आपराधिक घटना नियन्त्रण, लागुऔषध कारोबार नियन्त्रण तथा महिला, बालबालिका र लैङ्गिक हिंसाविरुद्धका मुद्दामा उल्लेखनीय सफलता हासिल गरेकी उनले अब केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाजिम्पाट काठमाडौँ सरुवा भएकी हुन्।>
>
यसैगरी अन्य सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले समेत आफ्नो मन्तव्य राख्दै उनको कार्यक्षमताको प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना गरेका थिए। कार्यक्रम समापनपछि निरीक्षक लिम्बुलाई जिल्ला प्रहरी कार्यालय परिसरमै सहकर्मीहरुले विशेष सम्मानसहित बिदाइ गरेका थिए।>
>>
>
>>